२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तस्बिरमा हेरौं दुर्लभ जंक्व (दिव्य रथारोहण)

प्रशान्त माली

काठमाडौँ — आफ्नो जीवनको चौथो जंक्व (दिव्य रथारोहण) मंगलबार साँखुकी एक थकाली नंकी (ज्येष्ठ महिला) को गरियो । नेवारी परम्परा अनुसार दुर्लभ मानिने संस्कार मनाउन भाग्यमानी थिइन्, शंखरापुर नगरपालिका–७ चलाखु टोलकी राजामती डंगोल । उनी मंगलबारै ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला पुगेकी थिइन् ।

सेताम्मे कपाल र गोरो अनुहारमा उनको मुस्कान आकर्षण थियो । आर्शिवाद लिन आउनेहरु दिनभर जसो भेटीसहित ढोग्दै आशीष मागे र दीर्घायुको कामना गरे । यो संस्कार गरेकालाई नेवारी परम्परामा साक्षत भगवान् मानिन्छ ।

दुई छोरा ४ छोराकी आमा राजामतीका एक सय भन्दा बढी नातिपनाति र बुहारीहरु छन् । उनकी ज्वाइ शम्भुराम श्रेष्ठ भन्छन्, ‘दिव्यरथारोहण गर्ने योजना ५ वर्षअघि नै थियो । केही तलमाथि होला भन्ने डर थियो । भगवानले ग्रहदशा पन्छाएर सफल बनाइदियो ।’ उनले थपे, ‘परिवारका सबै सदस्यहरुका साथ र सहयोगबाट संस्कार आयोजना गर्न सम्भव भयो ।’

नेवारी परम्परा अनुसार पहिलो जंक्व (भीम रथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेपछि गरिन्छ । स्रो चन्द्र रथारोहण जन्म भएर एक हजार पटक पूर्णिमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ । यसबेला बसुन्धरा मण्डल दर्शन गराएर अष्टसिद्धिको कामना गर्ने प्रचलन छ ।

तेस्रो (देवरथारोहण) ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला मा गरिन्छ । यसबेला रथलाई झ्यालबाट भित्र्याइन्छ । यसलाई महारथारोहण पनि भनिन्छ । चौथोमा दिव्यरथारोहण गरिन्छ । यस बेलासम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखिन्छ । जसलाई गर्भमा बसेको मानिन्छ । गुरुजुद्वारा तान्त्रिक विधिपूर्वक घ्याम्पो पूजा गरिन्छ । बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर अगाडिपट्टिबाट निकालिन्छ । यसलाई पुनर्जन्मको रुपमा लिइन्छ । यसबेला पांग्रा भएको रथमा राखेर नगर परिक्रममा गराइन्छ ।

गुरुजु आनन्दराज राजोपाध्याका अनुसार दिव्यरथमा चढेर नगर परिक्रम गरेमा ३३ कोती देवता दर्शन गर्नु सरह हो । ‘जंक्वमा अग्नी साक्षी राखेर होमजप गरेर सुर्यको किरणमार्फत ग्रहदशा शान्त गरिन्छ,’ उनले भने, ‘वैज्ञानिकहरुले सुर्यलाई ग्रह मान्दैनन् । हामी ग्रहका राजा स्वामी गुरु वृहस्पती मान्छौं । पृथ्वी वायुमा अडेको गुरुत्वआर्कषणले गर्दा हो । गुरुत्वआर्कषण चुम्बकीय दिशालाई आधार मानेर सहि समयमा गरिने पूजाले बुढाबुढीको आत्मबल बढाउँछ ।’

चाबेहल गणेश मन्दिर प्राङगणमा गरिएको रथारोहणमा ११ महादेवलाई साक्षी राखेर पूजा गरिएको थियो । २७ कलशमा देवता साधना गरिएको थियो । सुरुमा नङ काट्न लगाई पञ्चामृतले अष्टनाग कलशबाट स्नान गराएपछि योमरी र चतामरीले अभिषेक गराइयो । निरोगीको कामना गरेर दुबोलाई तेल र पीठोमा डुबाएर टाउको, हात र खुट्टामा छुआएर पूजा गरिएको थियो । यसपछि देवताको रुपमा लिइने गुरुजु राजोपाध्यायको भनाई छ । ‘पाँचौ पल्ट हुने रथारोहण भने अहिलेसम्म गरेको थाहा छैन,’ उनले भने । पाँचौ पल्ट गरिने महादिव्य रथारोहण १०८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पलामा गरिन्छ ।

पास्नी गर्नेहरुलाई थकाली आइमाईले फलामको साचो समाउन लागाई पानी तर्काउँदै स्वागत गरेर पूजा गर्ने ठाउँसम्म लैजाने चलन छ । पूजा गरेपछि कानमा सुनको ‘पुनाय्चा’ गहना लगाइदिन्छ । अन्तमा सप्तपथ भनेर सात पाइला हिँडाई सुगन दिइएको थियो । पूजा पूर्व र उत्तर इशान ध्रुव दर्शन गराएर गरिएको थियो । नातिपनातिहरुले रथ तान्ने र छोराछोरी ज्वाइँहरुले लावा अबिर छर्केका थिए । ५३ वर्षीय नाति श्यामकाजी डंगोल भन्छन्, ‘जंक्व परिवार, समाज र मुलुकको लागि योगदान गरिसकेकाले त्यसको उच्च मूल्यांकन गरी सम्मान गरिएको हो । अर्कोतर्फ सुस्वास्थ्यको कामना गरेर लामो आयु होस् भनेर धार्मिक विधिअनुसार पूजा गरिएको पनि हो ।’ उनले थपे, ‘उनीहरुलाई चित्त दुख्ने काम गर्नु हुँदैन भन्ने सन्देश पनि हो ।’ पास्नीको उपलक्ष्यमा आफन्त, टोलछिमेकी, साथीहरु डाकेर भोज गर्ने चलन छ ।

तस्बिरहरुःकविन अधिकारी

प्रकाशित : असार २६, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्