१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पानीमा शव खोज्दै प्रहरी (फोटोफिचर)

अवधेशकुमार झा

मुसहरनिया (सप्तरी) — सप्तरी प्रहरी पछिल्लो २ दिनयता राजविराज नगरपालिका–१५ मुसहरनियास्थित कोशी पश्चिमी नहरको च्यानलमा दुईवटा गाडिएका शव खोज्दै हैरान छ ।

गत जेठ ३१ गते राति आफ्नै शौचालयको सेफ्टी ट्याङ्कीमा कुहिएको अवस्थामा शव भेटिएकी बेचनीदेवी साहका पति सूर्यनारायण र उनकी २ वर्षीया छोरी प्रतिभाको शव नहरको च्यानलमा गाडिएको जानकारी पछि प्रहरी पानीमा शव खोजी गरिरहेको हो ।

बेचनीदेवीको शव कुहिएको अवस्थामा ट्याङ्कीमा फेला पर्दा उनका पति सुर्यनारायण र छोरी प्रतिभा बेपता भएपछि प्रारम्भिक चरणमा बेचनीको हत्या पति सुर्यनारायणले नै गरेको आशंका गरिएको थियो ।प्रहरी अनुसन्धानबाट बेचनीदेवीका देवर मुर्जा भनिने पञ्जदेव साह, उनका छोरा धर्मेन्द्र साह र सोही स्थानका थापा भनिने जिवछ साहसहित मिलेर गर्भवती बेचनी, उनका पति सूर्यनारायण र छोरी प्रतिभाको हत्या गरेको खुलेको छ ।

प्रहरीले पञ्चदेवसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सूर्यनारायण र छोरी प्रतिभाको घाटी थिचेर हत्या गरी नहरको च्यानलमा शव गाडेको बताए पछि प्रहरीले खोजी सुरु गरेको हो ।

कोशी योजनालाई आग्रह गरेर पश्चिमी कोसी नहरमा पानी बन्द गर्न लगाई सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले आइतबारबाट कोशी पश्चिमी नहरमा शव खोजिरहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंह र डिएसपी भावेश रिमालसहितका प्रहरी अधिकारीसमेत शव खोज्ने काममा जुटेका छन् ।

मंगलबार बिहानसम्म शव फेला नपरेको एसपी सिंहले बताए । प्रहरीले उक्त घटनावारे मंगलबार २ बजे पत्रकार सम्मेलन गरि बिस्तृत बिवरण सार्वजनिक गरिने जनाएकाे छ ।


प्रकाशित : श्रावण १५, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्