कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

तीनै तहको चुनावमा भाग नलिएका तिङ्लावासी अहिले सोध्छन्- 'अब चुनाव कहिले ?'

शब्द/तस्बिर : विमल खतिवडा

काठमाडौँ — सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ स्थित तिङलाका स्थानीय अहिले कहिले चुनाव होला भन्ने प्रतिक्षामा छन् । स्थानीय तह र प्रतिनिधि सभा चुनावमा भाग नलिएका तिङलाबासी अहिले चुनावको पक्षमा छन् ।

यो गाउँमा ४ हजार ५ सय जनसंख्या छ । २ हजार ४ सय ७६ मतदाता छन् । तर उनीहरुले स्थानीय तह र प्रतिनिधि सभा दुबै निर्वाचनमा ‘नो भोट’ अभियान चलाए । राज्य पुर्नसंरचना आयोगले गरेको सिमांकनसँग असन्तुष्टि राख्दै उनीहरुले मतदान बहिष्कार गरे ।

स्थानीय तहको निर्वाचनमा वडामा जनप्रतिनिधि उठाएनन् । पहिला यो गाउँलाई नेचा सल्यान गाउँपालिकाको ६ नम्बर वडामा राखिएको थियो । यसको केन्द्र पुग्न एक दिन लाग्ने र जोखिम मोलेर भिरको बाटो छिचोल्दै जानु पर्ने हुँदा गाउँले यसको विपक्षमा उभिए ।

अहिले नगरपालिकाको ११ नम्बर वडामा समायोजन गरिएपछि जनप्रतिनिधिको खोजी गाउँलेले गर्न थालेका हुन् । ०७४ फागुन १४ मा राजपत्रमा प्रकाशित भई गाउँपालिकाबाट नगरपालिकामा वडालाई समायोजन गरिएपछि गाउँलेको माग पुरा भएको थियो ।

जो नयाँ मान्छे गाउँमा पुग्छन्, उनीहरुलाई गाउँलेले फेरी चुनाव होलाकी नहोला भनेर जिज्ञासा राख्ने गर्छन् । वडा सचिव खेमराज खतिवडाका अनुसार जनप्रतिनिधि नहुँदा गाउँको विकासदेखि लिएर हरेक क्षेत्रमा निर्णय गर्न समस्या भएको छ ।

पुन: निर्माणको काममा ढिलाई भएको छ । सिफारिसको काममा समस्या छ । ‘ हाम्रो माग पुरा भयो,’ स्थानीय अगुवा ललितकुमार कार्कीले भने,‘ मिल्छ भने अब चुनाव गराईदिएदेखि हामीले हाम्रा गुनासा सुन्ने जनप्रतिनिधि पाउने थियाँै ।’ गाउँले घरयासी काममा व्यस्त बन्ने गरेका छन् ।


प्रकाशित : श्रावण १५, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्