१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नारायणगढ-मुग्लिन सडक सुधारियो, चालक सुध्रिएनन्

सडकको पहिरो सफा भएपनि गाडीको तछाँडमछाँडले सधैं जामको पिरलो
रमेशकुमार पौडेल, तस्बिरः कञ्चन अधिकारी

चितवन — नारायणगढ मुग्लिन सडकमा पहिरोले मात्रै यात्रुलाई पिरोल्दैन । पहिरो सफा भएपछि सडकमा तछाड मछाड गर्दै दौडने गाडीहरुका कारण पनि घण्टौ जाम हुन्छ । सोमबार बिहान नौ बजे लु १ ख ८७६२ नम्बरको गाडी चढेर काठमाडौं जान हिँडेका बिनोद धिताल दुई बजे बल्ल मुग्लिन पुगे । चार बज्दा उनी फिस्लिङ पनि कट्न सकेका थिएनन् ।

बिहानै नारायणगढ मुग्लिन सडकको घुमाउने र जलबिरे तथा पृथ्वीराजमार्गको केही ठाउँमा पहिरोले बाटो रोकेको थियो । घुमाउने र जलबिरेको पहिरो बिहाने नौ बजे नै सफा भएर दोहरै गाडी चल्न थालेका थिए । ११ बजे पृथ्वीराजमार्गको पहिरो पनि सफा भएको थियो । तर पहिरो सफा हुँदैमा यात्रुलाई सुविस्ता नहुने धितालले अनुभव गरे ।  ‘पहिरो सफा भए पनि बाटोमा दोहरो तेहरो गाडी कुदाउँदा हुने जामले ठुलो सास्ती दिँदो रहेछ,’ उनले भने । बाटोमा ट्राफिक प्रहरी अनुपस्थित हुँदा चालकले मनलाग्दी गरेको उनले देखे । 

तस्बिरः नारायण शर्मा

मुग्लिनसम्म र मुग्लिन कटेपछि पनि गाडीको लामै जाम भएको उनले बताए । ५०/१०० मिटर चल्न नपाउँदै गाडी रोकिएर बस्नु पर्ने अवस्था सडकमा भएको उनको भनाइ छ ।‘पहिरोले सकस दिइराखेको छ । सफा गर्दै गाडी छाड्दै गरे पनि फेरि सानो ठुलो पहिरो आएर रोक्ने गर्दा समस्या हुन्छ । यस्तो समस्या पर्दा लेन नमिचिकन आ–आफ्नो साइडमा बसेर अगाडि बढ्नु पर्ने हो । त्यसो नगर्दा समस्या आउँछ,’ चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक बेदप्रसाद गौतमले भने । उनले सडकमा ठाउँ ठाउँमा प्रहरी खटेर लेन अनुसार गाडी चलाउन कडाइ गर्दै आएको बताए ।

नारायणगढ मुग्लिन हुँदै दैनिक १० हजारसम्म गाडी ओहर दोहर गर्छन् । धेरै गाडी चल्ने भएका कारण समस्या पर्ने गरेको उनले बताए । ‘चालक जिम्मेवार भएर सोच्दा पनि धेरै सहज हुन्थ्यो । हाम्रो टोली पनि नखट्ने हैन खटेको छ । तर सबै तर्फ नभ्याउन पनि सक्छ नि,’ प्रहरी निरीक्षक गौतमले भने । 

प्रकाशित : श्रावण २१, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्