यसरी निकालियो गोदावरी खोलामा बगेको कार

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

काठमाडौँ — ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको सिद्धिपुर भएर बग्ने गोदावरी खोलामा सोमबार बिहानै कारबग्यो । रातभरको वर्षात्‌ले खोला बढेका बखत लुभुबाट काठमाडौंतर्फ आउँदै गरेको बा१४च ४७२९ को कार बिहान करिब ६ बजेतिर बगेको हो । कार चालक (धनी) भने सकुशल रहन सफल रहेको स्थानीयले बताए ।

Esewa Pasal

प्रकाशित : श्रावण २१, २०७५ २०:४८

दिउँसो करिब साढे ३ बजे घटनास्थल पुग्दासम्म कार गोदावरी खोलामै रहेको थियो । सिद्धिपुर बजार बीच बग्ने खोलाको वारि र पारि सयौंका स्थानीय रमिते बनेका थिए । स्थानीय युवा, यातायात व्यवसायी, प्रहरी दिनभर कार निकाल्नका लागि तल्लिन थिए । एक्जाभेटर, क्रेन समेत ल्याइएको थियो । बीचबीचमा वर्षा हुँदा खोला झनै बौरिएपछि कार निकाल्ने काम अझ प्रभावित हुन्थ्यो ।

लुभु–लगनखेल चल्ने सवारीसाधनले साविकको दुरी छोट्याएका थिए । लुभुबाट चल्ने यातायातका साधन खोला किनारबाटै फर्किने र यता लगनखेलबाट लुभुका लागि छुटेका सवारी सोही खोला नजिकबाटै फर्किए ।

Yamaha

कार निकाल्ने हरेक जुक्ति निकालिए । अन्तत: पौडिन सक्ने दुई खाइलाग्दा युवालाई छनौट गरियो । कार भएको ठाउँसम्म डोरी लगेर बाँध्ने काम सबैभन्दा जोखिम थियो ।

नाइलनका लठ्ठाले कार निकाल्ने प्रयास नगरिएको होइन । नाइलनको डोरी चुँडिएपछि थप समस्या बनेको थियो । अन्तमा फलामको साङ्लोले कारलाई बाँधेर खोला किनारसम्म ल्याइयो । त्यो अघिसम्म कारको नम्बर प्लेट ठम्याउन सकिएको थिएन ।

खोलाको किनारमा ल्याइएपश्चात् त्यसलाई माथि जमिनमा लिनु कुनै समस्या थिएन । सहज ढंगले कार निकालियो । ‘लाहुरेको छोरोको कार’ भन्दै स्थानीय सर्वसाधारणले बताइरहेका थिए ।

बनोट हेर्दा कार पुरानो थिएन । दिउँसोभर डुबानमा परेका कारण बाढी मिसिएको खोलासँगै बगेका ढुँगाहरु ठोक्किँदा भिरबाट खसेर दुर्घटनाग्रस्त बनेको थोत्रो गाडीजस्तै देखिन्थ्यो ।

कार जमिनमाथि निकाल्दासम्म पौने ४ बजिसकेको थियो । सुगमस्थल मात्र नभई बजारको बीचमै रहेर पनि एउटा सानो कार खोलामा बग्दा निकाल्न पौने १२ घण्टा समय कुर्नुपर्ने तितो यथार्थ सहरिया जीवनको प्रवृत्तिको एउटा उदाहरण रहेको महसुस गरेँ । मानौं, सिद्धिपुर बजारमा जात्रा लागेजस्तै भयो २१ गतेको सोमबार रमितेको भिड देख्दा !

प्रतिक्रिया
पठाउनुहोस्

'होमवर्क' गर्दागर्दै पुरिए बालक, ठाँटीबजार शोकमा डुब्यो

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् ।

फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई भाइ गोविन्द र दशरथलाई पुरिसकेको थियो । अर्का भाइ सुरेन्द्र धारामा पानी भर्न गएकाले बचेछन् ।

उक्त दिन बिहान विद्यालयले दिएको होमवर्क गरिरहेका अन्य दुई बालक नवीन परियार र नरेन्द्र परियार पनि पुरिए । ‘आफूले दु:ख पाए पनि भाइहरूलाई पढाएर ठूलो मान्छे बनाउने सपना दैवले चुँडेर लियो,’ भावविह्वल अवस्थामा रहेकी शर्मिलाले बिलौना गर्दै भनिन्, ‘मेरा लागि छोरासरह थिए भाइहरू, हे दैव यस्तो अन्याय किन गरिस् ?’

आइतबार बिहानको पहिरोले भेरी नगरपालिका ६, गंगटियाका लालबहादुर लुहारको परिवारमा पनि बज्रपात भयो । ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्न तीन महिनाअघि सदरमुकाम खलंगाको ठाँटीबजारस्थित तीर्थराज बोहराको घरमा डेरा सरेको थियो लालबहादुरको परिवार । उनकी छोरी ९ वर्षीया भगवती ३ कक्षा, ६ वर्षीया रञ्जना तथा चार वर्षीया मनिसा १ कक्षामा हनुमान प्राथमिक विद्यालय थाप्लेमा पढ्थे । लुहार जोडीले खलंगा बजारमा छोरीहरूलाई पढाउने तथा दैनिक ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएको थियो । लालबहादुर मिस्त्री काम गर्छन् । सदरमुकाममा राखेर पढाउँदा छोरीहरूको उज्ज्वल भविष्यको सपना देख्न थालिसकेका थिए ।

‘बिहान साढे सात बजे कोठामा छोरीहरू पढै थिए । श्रीमती शीतल खाना पकाउँदै थिइन् । मजदुरी गर्न जाने हतारोले म नजिकै बसेर उनलाई सघाइरहेको थिएँ, एक्कासि ठूलो आवाज आयो,’ लालबहादुरले आइतबारको त्रासदीपूर्ण बिहान सम्झिए, ‘लगत्तै घर भत्कियो, हामी सबै भित्रै पुरियौं, त्यसपछि के भो थाहा भएन, श्रीमती र छोरीलाई देख्न सकिनँ ।’ उनलाई नेपाली सेनाले डेढ घण्टापछि उद्धार गरेको थियो । अहिले जाजरकोट अस्पतालको शय्यामा श्रीमती र छोरीको बिछोडको पीडाले छटपटाइरहेका छन् । पहिरोमा परिवारका सबै सदस्य गुमाए । ‘पहिरोले सबैलाई लग्यो, मलाई मात्र किन बचायो,’ उनले भने, ‘सबैलाई पहिरोले लगिसक्यो, ममात्र बाँचेर के गर्नु ?’

नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तीर्थराज बोहरा ठाँटीबजारमा ३ कोठे घर बनाएर ३ वर्षदेखि बस्दै आएका थिए । उनकी ५ वर्षीया छोरी नजिता गोल्डेन एनपी स्कुल थाप्लेमा नर्सरीमा पढथन् । आइतबारको पहिरोले घरसहित छोरी नजितालाई पनि पुरिदियो । ‘क्षणभरमै पहिरोले छोरीलाई माटामा मिलायो,’ आमा पुष्पाले भावविहवल हुँदै भनिन्, ‘गुहार–गुहार गर्‍यौं, कसैले सुनेन ।’

कुशे ५, खुर्पाका प्रेमबहादुर परियार ५ वर्षदेखि ठाँटीबजारमै सिलाइकटाइ व्यवसाय गर्दै आएका छन् । उनको परिवार सोही ठाउँका प्रकाश विकको घरमा डेरा गर्छ । साढे ६ बजेतिर सबैले चिया खाए । छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भनेर श्रीमान्श्रीमती कपडा सिलाउन पसलतर्फ निस्किए । त्यसको १५ मिनेटमै पहिरो गएको हल्लीखल्ली भयो । दौडिएर कोठामा पुगे । तर छोरा भेटिएनन् । छोरा साथीसँग पढ्न बसेको घर नै पहिरोले पुरेपछि आत्तिए ।

‘जति आत्तिए पनि प्रकृतिको विपत्तिलाई जित्न सकिएन,’ उनले भने, ‘यस्तो विपत् शत्रुलाई पनि नहोस् । करिब ५ घण्टापछि छोरा नरेन्द्र मृत अवस्थामा भेटिए । छोराको शोकमा प्रेमकी श्रीमती पटकपटक मुर्छा पर्छिन् । १३ वर्षीय नरेन्द्र शान्ति ज्ञानकुञ्ज आवासीय विद्यालयमा ३ कक्षा र प्रेमका मामाका छोरा नवीन परियार नवज्योति स्कुलमा नर्सरीमा पढ्थे । बिहानै उठेर साथीसँग होमवर्क गर्न जान्छु भनी गएका छोरा नरेन्द्र र भाइ नवीन फर्केनन् । उनीहरू दुई जना जितबहादुरको घरमा बस्ने साथी गोविन्द र दशरथसँगै बसेर पढै गरेको अवस्थामा पहिरो गएको थियो ।

अविरल वर्षातका कारण भेरी नगरपालिका ३, ठाँटीबजारमा पहिरोमा पुरिएर आइतबार ८ बालबालिकासहित ९ जनाको मृत्यु भएको थियो । पहिरोमा एकजना घाइते छन् । एक सय मिटर माथिबाट आएको पहिरोले २ वटा घर पुरिएका थिए । ठाँटीबजारको पहिरोमा परेर ९ जनाको मृत्यु भएपछि खलंगा बजारमा शोकको वातावरण छ । मृ

तकप्रति श्रद्धाञ्जली दिन विद्यालय तथा संघसंस्था सोमबार बन्द रहे । मृतकका आफन्तलाई राहत उपलब्ध गराउने क्रम जारी छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले सोमबार पहिरो प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । तीन साताअघि जुनीचाँदे गाउँपालिका ५ छिर्कमा गएको पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको थियो ।

प्रकाशित : श्रावण २१, २०७५ २०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT