२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कलंकी-नागढुंगा सडकः न बसिसाध्यै, न हिँडिसाध्यै

स्तरोन्नती नहुँदा सास्ती
तस्बिर : अंगद ढकाल, कञ्चन अधिकारी

काठमाडौँ — कलंकी-नागढुंगा सडक राजधानी प्रवेश गर्ने र राजधानीबाट ७१ जिल्ला जान प्रयोग हुने मुख्य राजमार्ग । तर त्यही राजमार्ग चार वर्षदेखि बिग्रँदा स्थानीय मात्रै होइनन् व्यापारी, यही बाटो हुँदै यात्रा गर्ने यात्रुले दिनहुँ सास्ती खेप्नु परेको छ । गएगुज्रेको यो बाटोले सबैलाई वाक्कदिक्क बनाएको छ ।

घाम लाग्दा धूलैधूलो, पानी परेपछि हिलै हिलो । न बसिसाध्यै, न हिँडिसाध्यै । न त सवारीसाधनमा गुडीसाध्यै नै । जाम उत्तिकै । यो बाटो भएर हिँड्नेहरु आजित हुन्छन् ।

बिग्रेर क्षतविक्षत भएको सडक त्यति लामो पनि छैन । जम्मा ९ किलोमिटरमात्रै । तर यही ९ किलोमिटर पार गर्न १ देखि साढे १ घण्टासम्म लाग्छ । लामै जाम परेका बेला त कहिलेकाहिँ ९ नै घण्टा पनि लाग्छ । 'जम्मा नौ किमी सडक हो । बनाउन लागेको ४ वर्ष भयो अहिलेसम्म पुरा भएको छैन । यस्तो पनि सरकार हुन्छ ?,' गुर्जुधाराका स्थानीय ६० वर्षीय ध्रुवदेव श्रेष्ठ आक्रोश पोख्छन् ।

राजधानीको लाइफलाइन राजमार्गबारे चारैतिर आलोचना भएपछि यही साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको अवलोकन गरेका थिए । उनले भदौ १२ गतेसम्म सडक कालोपत्रे गरिसक्ने 'भाषण' पनि दिए । तर यस्ता 'गफ' धेरै वर्षदेखि सुनिराखेकोले मन्त्रीको भनाइ पनि पत्याइहाल्न नसकिने बताउँछन् स्थानीय। 'हेर्दै जाऊ कत्तिको काम गर्छन् मन्त्रीले । मन्त्री आएको पनि १२ दिन भइसक्यो । सडकको काममा सिन्को भाँचिएको छैन । अब १८ दिनमा के कायपलट होला र ?,' श्रेष्ठले शंका व्यक्त गरे ।

अत्याधिक धूलोले यस क्षेत्रमा बस्ने हरेकको श्वासप्रश्वासमा समस्या आइरहेको छ । यति मात्रै होइन यस क्षेत्रमा व्यापार गर्नेहरुको व्यवसाय चौपट भएको छ । 'जति हारगुहार गरेपनि हाम्रो समस्या जस्ताको त्यस्तै छ । हिलोले हिँड्न नसक्ने, धूलोले बस्न नसक्ने भएका छौं । रुन मात्रै सकेका छैनौं,' श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २४, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्