कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विराटनगर महानगरमा बम बिस्फोटपछि... [तस्बिरहरु]

वेदराज पौडेल

विराटनगर — विराटनगर महानगरपालिकाको सेवाग्राही बस्ने कक्षको ब्रेन्चीमा राखिएको बम बिस्फोट हुँदा कार्यालयका फर्निचर र सिसा फुटेका छन् ।

महानगरपालिकाको सवा दुई बजे भएको बम बिस्फोट भएको थियो । घटनास्थलमा केही आल्मुनियमका टुक्रा भेटिएपनि प्रहरीले कुकर बम नभएको बताएको छ ।

खाजा खाने समय सेवाग्राहीको भीड पातलिएको बेला बम बिस्फोट भएकाले मानवीय क्षति भने हुन पाएन । बम कसले बिस्फोट गरायो भन्ने पत्ता लाग्न सकेको छैन । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

महानगरका मेयर भीम पराजुली चढ्ने गाडीको पछाडीको सिसामा समेत क्षति पुगेको छ । बम बिस्फोट हुँदा कार्यकक्षमै रहेका पराजुलीले पहिले ठुलो आवाज आउँदा कुनै मेशिन पड्किएको हो की भन्ने अनुमान गरेको बताए ।

उनले संविधान मान्दिन भन्दै हिँड्ने कुनै समुहको काम भएको हुन सक्ने बताउँदै जननिर्वाचित प्रतिनिधिले काम गर्ने कार्यालयमा सर्वसाधरण समेतलाई आतंकीत पार्ने गरी भएको यो घटना निन्दनीय भएको बताए ।

प्रहरीले घटना स्थलको मुचुल्का गरेको छ । तालिम प्राप्त कुकुरबाट समेत घटना स्थलको निरीक्षण गराइएको छ । घटनामा श‌ंकास्पद ६ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख मनोज केसीले बताए । केसीले भने‘घटनास्थलबाट टिनका टुक्राहरु बरामद भएकाले कुनै टिनको बट्टालाई बमका रुपमा प्रयोग गरिएको देखिन्छ ।’

तस्बिरहरुः वेदराज पौडेल / कान्तिपुर


प्रकाशित : श्रावण २७, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्