कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मासिँदै जिल्ला पाल्ने जिउला

बसन्तप्रताप सिंह

बझाङ — पर्याप्त पानी परेका कारण यस वर्ष समयमै रोपाईं सकिएको छ । अघिल्ला वर्षहरुमा साउनको अन्तिमसम्म रोपाईं भैरहेको दृष्य देख्न सकिने जिउला (धन खेत)हरु यो वर्ष मध्य साउन पहिलो हप्ता नै हेरिरहुँ लाग्ने गरी हरिया भैसकेका थिए । छिटो रोपाईं सम्पन्न भएका केही जिउलाहरुमा धान पसाउन पनि थालिसकेको छ ।

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रसस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको संख्या जिल्ला भर एक सय भन्दा बढी रहेको जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

यो वर्ष जिल्ला भरीमा करिब ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस जिल्लाको मुख्य बालीको रुपमा रहेको धानको वार्षिक सरदर उत्पादन २२ हजार मेट्रिक टनको हाराहारीमा छ ।

जिल्लाको कुल खाद्यान्न आवश्यकताको करिब ६५ प्रतिशत हिस्सा अन्न उत्पादन गर्ने यी जिउलाहरुको पछिल्लो समय जोखिममा छन् । सदरमुकाम चैनपुर लगायतका बजार क्षेत्रमा मलिला फाँटहरुमा धमाधम घर बन्न थालेका छन् ।

ग्रामिण क्षेत्रमा सडक निर्माणले गर्दा सुरु भएको पहिरो र जथाभावि फालेको माटोका कारण उर्वर भुमि बगरमा परिणत हुने क्रम जारी छ । धान उत्पादनका हिसावले प्रख्यात मानिने गोलाई, सुवेडा, मालुमेला लगायतका ठाउँमा रहेका फाँटहरु सडकका कारण पुरिने क्रममा छन् ।

सेती नदी, कांलगागाड, बाहुलीगाड, सुनिगाड आदी नदी र खोलाको किनारमा रहेका जिउलाहरु नदी कटानका कारण पनि जोखिममा छन् । तटबन्धको व्यवस्था नभएका कारण नदी कटानले बर्षेनी मलिलाफाँटहरु खुम्चीने र बालुवाले भरिएका बगरको आयतन फैलने क्रम जारी छ ।

बझाङका जिउला मात्र हैन, यहाँ फल्ने सुगन्धित तथा औषधिय धानका जातहरु पनि पछिल्लो समय जोखिममा परेका छन् । बझाङमा मात्र पाइने हंसराज, लडमडे, टाकमारो जस्ता सुगन्धित (बास्मती) धान स्वादको हिसाबले प्रख्यात छन् ।

यद्यपी उत्पादन कम हुने भएको पछिल्लो समय यस्ता जातका धानको खेती गर्नेहरुको संख्यामा कम हुँदै गएको छ । औषधिय गुण समेत भएका खस्रे धान, जुँगेधान, थापाचिनी आदी जातका धानको जात नै लोप हुने अवस्थामा पुगेको किसानहरु बताउँछन् । यी जातका धानमा विभिन्न रोगको संक्रमण देखिन थाले पछि अधिकांस किसानहरुले खेती गर्न छोडेका छन् ।

प्रकाशित : श्रावण २८, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्