सेती किनारमा दाउरा निकाल्नेको भीड [फोटोफिचर]

बसन्तप्रताप सिंह

बझाङ — सेती नदीको भेलले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा बझाङका धेरैले ज्यान गुमाइसकेका छन् । दाउरा उतार्न जानेहरुमध्ये प्रत्येक वर्ष ३ जनासम्म सेतीमै हेलिन्छन् र जिवन समाप्त गर्छन् । ६ वर्ष यताको तथ्याङ्क हेर्ने हो भने सेतीमा दाउरा उतार्ने क्रममा मात्र १२ जनाले मृत्युवरण गरिसकेका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २, २०७५ १७:५२

‘ज्यानको माया त कसलाई हुँदैन र ?’ दाउरा उतार्नेहरुको भीडमा रहेकी व्यवसायी नानी शाहीले भनिन् ‘भेल आएको बेला दाउरा छोपिएन भने एक डेढ लाख घाटा हुन्छ ।’ प्रत्येक वर्ष सेती नदीबाट दुई लाखभन्दा बढी मूल्यको दाउरा उतार्ने गरेको बताइन् । उर्लंदो भेलमा दाउरा उतार्नु जोखिमपूर्ण काम भएकाले यसो नगर्न जिल्ला प्रशाशन कार्यालयले अनुरोध गरिरहेको छ । तर, सेती उर्लन थालेपछि ज्यानको पर्वाह नगरी चैनपुरवासी सेती किनारमा जम्मा हुन्छन् ।

Yamaha

एक हप्तादेखि लगातार वर्षा भएपछि सेती नदीको सतह बढेको छ । नदीमा बाढीसँगै उपल्लो तटिय क्षेत्रबाट दाउरा बगेर आउन थालेपछि दिनमा मात्रै होइन, रातभर सेती किनारमा जाग्राम बसेर दाउरा उतार्न तँछाडमछाड गर्नेहरु भीड लाग्छन् । स्थानीय कोही उतारेको दाउरा बेचेर खर्च टार्छन र कोही होटल तथा घरमा प्रयोग गर्न ३/४ महिनाको लागि दाउरा जोहो गर्छन् । व्यवसायी शाहीले भनिन्, ‘बजारमा किन्यो भने एक भारीको ३/४ सय पर्छ । यहाँ दिनकै १५/२० भारी दाउरा सितैमा उर्ताछौ’दाउराको लोभले राति निद्रा नै नलाग्ने गरेको सुनिल नेपालीको भनाइ छ । ‘ठूलो झरी परेको दिन त निद्रै लाग्दैन ।’ उनले भने ‘बजारभरीका मान्छे सेतीकै किनारमा हुने भएकोले राति पनि खासै डर लाग्दैन ।’ राति बढी दाउरा उतार्न सकिने उनले बताइन् ।

दाउरा उतार्दा चिसा र चिप्ला ढुङ्गामा चिप्लेर सेतीमा खस्ने, दाउराको मुढाले तानेर भेलमा फाल्ने र छालले हुत्याएर बगाउन सक्नेजस्ता खतरा हुने गरेको चैनपुरका रुपेन्द्र रसाइलीले बताए । केटाकेटीदेखि वृद्धवृद्धासम्म दाउरा उतार्न जाने भएकोले उनीहरुलाई बढी जोखिम हुने गरेको उनको भनाइ छ ।जिल्ला प्रहरी कार्यालयले पनि दाउराका लागि ज्यान जोखिममा नराख्नका लागि सम्झाइबुझाई गर्न प्रहरी परिचालन गरेको छ ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भौगोलिक जटिलताले रेलमार्ग बनाउन छेक्दैन : परराष्ट्रमन्त्री

सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्राविधिक अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निकै जटिल र कठिन औंल्याए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने त्यस्तो निष्कर्षमा पुग्न हतार गर्न नहुने बताएका छन् । 

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न शुक्रबार दिल्ली आएका मन्त्री ज्ञवालीले कान्तिपुरसँगको सक्षिप्त कुराकानीका क्रममा त्यस्तो बताएका हुन्। नेपालको भौगोलिक जटिलता यथार्थ भए पनि विज्ञान र प्रविधिको क्षेत्रमा भएका ठूला ठूला आविष्कारका सामु कुनै पनि भूगोल अनुल्लघंनीय रहन नसक्ने हुँदा उत्तर र दक्षिण दुवै तर्फबाट नेपाल रेलमार्गमा जोडिन सक्ने मन्त्री ज्ञवालीको दाबी छ।

गत बिहीबार कान्तिपुरको अंग्रेजी सहप्रकाशन द काठमाडौं पोष्टले एक चिनियाँ कम्पनीले गरेको प्राविधिक अध्ययनलाई उद्धृत गर्दै विकट भूगोल र उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले केरुङ–काठमाडौं रेलमार्गको निर्माणलाई अत्यन्त कठिन र चुनौतीपूर्ण रहेको खुलासा गरेको थियो। चिनियाँ कम्पनी चाइना रेल्वे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले प्रस्तावित १२१ किलोमिटर उक्त रेलमार्गको अध्ययन गरेको हो।

मन्त्री ज्ञवालीले रेलमार्गको प्राविधिक अध्ययन प्रतिवेदन अन्तिम टुंगो लागि नसकेको हुँदा अहिले नै रेलमार्ग सम्भव छ र छैन भन्ने टिप्पणी गर्नुको कुनै अर्थ नरहेको बताए। ‘प्रतिवेदन औपचारिक रुपमा अझैसम्म बुझाइएको छैन। त्यसमा छलफल गर्नका निम्ति भदौको पहिलो साता चीनको सियाम बैठक हुँदैछ। त्यहाँ औपचारिक रुपमा छलफल नहुँदै एउटा अनुमानका भरमा टिप्पणी गर्नुको कुनै अर्थ छैन’ ज्ञवालीले भने। आगामी साता नेपाल र चीनका प्रतिनिधि मण्डलबीच सियाममा हुने चार दिने बैठकले रेलमार्गको प्राविधिक अध्ययन माथि छलफल गर्ने बताइएको छ। र, सोही बैठकले नै विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुका अघिका जटिलताहरु फुकाउने सन्दर्भमा पनि उपाय सुझाउने अनुमान गरिएको छ।
नेपालमा रेलमार्ग र अन्य ठूला पूर्वाधारहरुको विषय उठ्नासाथ त्यसमा हात नै हाल्नु हुँदैन र सक्दैन भन्ने कोणबाट छलफलका हुनुका पछाडि मुलुकलाई सधैँ अल्पविकासको चक्रव्यूहमा राख्ने नियत होइन भन्नेमा आफूलाई आंशका भएको मन्त्री ज्ञवाली बताए। ‘वातावरणीय र लगानीका पक्षहरुलाई निश्चित रुपमा ध्यान दिनुपर्छ। तर, त्यो भन्दै केरुङ–काठमाडौं रेलमार्गको कुरा गर्नासाथ भू-वनोट कमजोर भन्ने, रक्सौल–काठमाडौंको कुरा गर्दा चुरेलाई क्षति पुग्छ भन्नुका पछाडि कुनै स्वार्थ लुकेको हो भन्ने पनि लाग्छ,’ ज्ञवालीले भने।
पछिल्लो समय अनावश्यक शंका र टिप्पणी चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरई)का सन्दर्भमा गर्ने गरेको उनको भनाइ थियो। ‘बिआरआईको प्रसंगमा ऋणको पासो (डेब्ट ट्र्याप)को कुरा झिकिहालिन्छ। कस्ता परियोजनामा कुन शर्तमा ऋण लिने भन्ने कुरामा सतर्कता अपनाउनै पर्छ,’ मन्त्री ज्ञवालीले थपे। तर, ऋणको पासोको त्रास देखाएर नेपाललाई सँधै अल्पविकासको पासोमा पारिराख्ने काम नहोस् भन्नेमा पनि सचेत हुनुपर्ने ज्ञवालीको भनाइ छ।

प्रकाशित : भाद्र २, २०७५ १७:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT