२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सेती किनारमा दाउरा निकाल्नेको भीड [फोटोफिचर]

बसन्तप्रताप सिंह

बझाङ — सेती नदीको भेलले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा बझाङका धेरैले ज्यान गुमाइसकेका छन् । दाउरा उतार्न जानेहरुमध्ये प्रत्येक वर्ष ३ जनासम्म सेतीमै हेलिन्छन् र जिवन समाप्त गर्छन् । ६ वर्ष यताको तथ्याङ्क हेर्ने हो भने सेतीमा दाउरा उतार्ने क्रममा मात्र १२ जनाले मृत्युवरण गरिसकेका छन् ।

‘ज्यानको माया त कसलाई हुँदैन र ?’ दाउरा उतार्नेहरुको भीडमा रहेकी व्यवसायी नानी शाहीले भनिन् ‘भेल आएको बेला दाउरा छोपिएन भने एक डेढ लाख घाटा हुन्छ ।’ प्रत्येक वर्ष सेती नदीबाट दुई लाखभन्दा बढी मूल्यको दाउरा उतार्ने गरेको बताइन् । उर्लंदो भेलमा दाउरा उतार्नु जोखिमपूर्ण काम भएकाले यसो नगर्न जिल्ला प्रशाशन कार्यालयले अनुरोध गरिरहेको छ । तर, सेती उर्लन थालेपछि ज्यानको पर्वाह नगरी चैनपुरवासी सेती किनारमा जम्मा हुन्छन् ।

एक हप्तादेखि लगातार वर्षा भएपछि सेती नदीको सतह बढेको छ । नदीमा बाढीसँगै उपल्लो तटिय क्षेत्रबाट दाउरा बगेर आउन थालेपछि दिनमा मात्रै होइन, रातभर सेती किनारमा जाग्राम बसेर दाउरा उतार्न तँछाडमछाड गर्नेहरु भीड लाग्छन् । स्थानीय कोही उतारेको दाउरा बेचेर खर्च टार्छन र कोही होटल तथा घरमा प्रयोग गर्न ३/४ महिनाको लागि दाउरा जोहो गर्छन् । व्यवसायी शाहीले भनिन्, ‘बजारमा किन्यो भने एक भारीको ३/४ सय पर्छ । यहाँ दिनकै १५/२० भारी दाउरा सितैमा उर्ताछौ’दाउराको लोभले राति निद्रा नै नलाग्ने गरेको सुनिल नेपालीको भनाइ छ । ‘ठूलो झरी परेको दिन त निद्रै लाग्दैन ।’ उनले भने ‘बजारभरीका मान्छे सेतीकै किनारमा हुने भएकोले राति पनि खासै डर लाग्दैन ।’ राति बढी दाउरा उतार्न सकिने उनले बताइन् ।

दाउरा उतार्दा चिसा र चिप्ला ढुङ्गामा चिप्लेर सेतीमा खस्ने, दाउराको मुढाले तानेर भेलमा फाल्ने र छालले हुत्याएर बगाउन सक्नेजस्ता खतरा हुने गरेको चैनपुरका रुपेन्द्र रसाइलीले बताए । केटाकेटीदेखि वृद्धवृद्धासम्म दाउरा उतार्न जाने भएकोले उनीहरुलाई बढी जोखिम हुने गरेको उनको भनाइ छ ।जिल्ला प्रहरी कार्यालयले पनि दाउराका लागि ज्यान जोखिममा नराख्नका लागि सम्झाइबुझाई गर्न प्रहरी परिचालन गरेको छ ।

प्रकाशित : भाद्र २, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्