कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बादी समुदायको ‘भाँडे संक्रान्ति' पर्व सुरु 

बसन्तप्रताप सिंह

बझाङ — बादी समुदायले मनाउने सबैभन्दा ठूलो पर्व 'भाँडे संक्रान्ति' को रौनक सुरु भएको छ । भदौ १ गतेदेखि १५ दिनसम्म बादी समुदायले यो पर्व मनाउने गरेका छन् ।

जिल्ला सदरमुकाम चैनपुर र थलारा क्षेत्रमा बसोबास गर्ने विपन्न बादी समुदाय यो पर्वमा अनुहारमा मुकुन्डो लगाई, शरीरमा कमेरो दलेर, काठको घोडामा चढेर मादल र सारंगी बजाउँदै गाँउ–गाँउमा नाचगान गरेर नगद तथा अन्नपात माग्ने गर्दछन् । तत्कालीन समयमा बझाङी राजाहरुलाई मनोरञ्जन दिने उद्देश्यले यो पर्व थालिएको भनाई छ । जिल्ला प्रशासन कार्यालय रहेको बझाङी राजाको हात्तीसार दरबारबाट सुरु गरिने नाचगान १५ दिनसम्म सदरमुकाम र आसपासका गाँउमा गरिने चैनपुरका धर्म बादीले बताए ।

माटाका भाँडा बनाउने भएकोले बादीहरुलाई ‘भाँड’ भनिएको र ‘भाँड’हरुले मनाउने भएकोले यो पर्वको नाम ‘भाँडे संक्रान्ति’ रहन गएको स्थानीय जानकारहरु बताउँछन् । आधुनिक प्रविधिको विस्तारले बादी समुदायको माटाका भाँडा बनाउने पेशा लोप भैसकेको छ । बिबाह, ब्रतबन्धमा नाचगान गरेर खाने चलन पनि मनोरञ्जनका आधुनिक साधनका कारण लोप हुँदै गएको छ ।

आफ्नो परम्परागत पेशा लोप भएको र अन्य पेशा अपनाउन नसकेका कारण यो समुदायमा गरीबि ब्याप्त छ । ‘भाँडे संक्रान्तिमा नाचगान गरेर आएको पैसाले एक/दुई महिनासम्म गुजारा चल्ने भएकाले यो पर्व हाम्रा लागि महत्वपूर्ण छ,’ स्थानीय रमेस बादीले भने, ‘त्यही भएर संक्रान्ति आउनु भन्दा केही दिन पहिले नै हाम्रो समुदायमा चहलपहल सुरु भैसक्छ ।’

‘भाँडे संक्रान्ति’ को नाचगान हेर्न गाँउबाट सदरमुकाममा आउनेको भीड पछिल्लो समय घट्दै गएको स्थानीय राधा बादीले बताइन् । पछिल्लो समयमा आफ्नो समुदायले नै यो पर्वलाई उति महत्व दिन कम गरेको बादी समुदायका सदस्य बताउँछन् ।

‘पहिला जिल्ला भरका मान्छे नाच हेर्न आउँथे, यहाँ मेला नै लाग्थ्यो । अहिले अरुले पनि विर्से, हाम्रा मान्छेमा पनि पहिला जस्तो चासो छैन,’ स्थानीय लक्ष्मी बादीले भनिन् । बादी समुदायका पुराना पुस्ताका मानिसहरुको संख्या घटेसँगै नयाँ पुस्ताले आफ्नो संस्कृति विर्सदै गएको उनको भनाई छ ।

‘भाँडे संक्रान्ति’ पर्वमा परम्परागत भेषभुषामा सजिएर नाचगान गर्दै बादी समुदायका ब्यक्तिहरु : तस्बिर : बसन्तप्रताप सिंह/कान्तिपुर

प्रकाशित : भाद्र ३, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्