कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बाग्मतीमा र्‍याफ्टिङ !

शब्द/तस्बिर :सुरविन्द्रकुमार पुन

काठमाडौँ — बाग्मती सफाइ अभियानको २७६ औं हप्ता पुग्दा बाग्मती नदीमा शनिबार जलजात्रा मनाइयो । बाग्मती महोत्सवको यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ । ‘बाग्मती जलजात्रा २०१८’ नाम दिइएको सो उत्सवमा बाग्मती सफाइ अभियन्ताको उल्लेख्य सहभागिता थियो । उत्सवको मुख्य आकर्षण नदीमा र्‍याफ्टिङ गर्नु थियो ।

थापाथली पुलबाट बल्खु–चोभार खण्डको सुन्दरीघाटसम्म जलयात्रा गरिएको थियो । १८ वटा र्‍याफ्टमा सयजना भन्दा बढी र्‍याफ्टिङमा सवार थिए । कार्यक्रमको मुख्य अतिथि वरिष्ठ वातावरण पत्रकार भैरव रिसाल थिए भने विशिष्ट अतिथिमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य पम्फा भूसाल, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व अर्थसचिव किशोर थापा, स्थानीय जनप्रतिनिधि लगायत बाग्मती सफाइ अभियानका अगुवा, स्थानीय सम्पदाप्रेमी आमन्त्रित थिए ।

बिहानैदेखि दर्केर परेको वर्षाका कारण औपचारिक कार्यक्रम केही समय पछाडि धकेलिएको थियो । मन्त्री बस्नेत, वरिष्ठ पत्रकार रिसाल समेत छाता ओढेर कार्यक्रमस्थल पुगेका थिए ।

पञ्चकन्यालाई समेत धौधौ मञ्चमा उकालिएको थियो । नदी किनारको हिलोमा अतिथिहरु मुस्किलले सम्हालिए । उता रिभर गाइडहरुलाई र्‍याफ्टमा पम्प भर्न मुस्किल थियो भने यता पञ्चेबाजालाई पानीबाट बचाउन हम्मेहम्मे !

महाकाली, मार्दी, भोटेकोशी, दूधकोशी, मस्र्याङ्दी, पश्चिम सेती, बूढी गण्डकी, सुनकोशी लगायत १८ वटा नदीबाट छुट्टाछुट्टै ल्याइएको पानीलाई आमन्त्रितहरुबाट तामाको भाँडामा मिसाएका थिए । सो मिश्रित पानीलाई अन्तमा बाग्मती नदीमा मिसाइयो ।

‘आउँदा दिनहरुमा बाग्मतीको नदीलाई पनि तिर्खा लागेको बेला ती नदीका स्वच्छ पानी झैं सहज पिउन सकियोस् भन्ने विम्व स्वरुप यसो गरिएको हो,' कार्यक्रमका सभाध्यक्ष मेघ आलेले भने, ‘कमसेकम नेपालले बेलाबखत आयोजना गर्ने सार्क शिखर सम्मेलन, बिम्स्टेक सम्मेलनका बेला हामीले हाम्रा डेलिगेट्सलाई बाग्मतीमा नौका विहार गराउन सक्यौं भने बाग्मतीप्रति हामीले गौरव गर्ने ठाउँ प्रशस्त हुने छ ।’

नदी संरक्षणकर्मी मेघ आले आबद्ध संस्था नेपाल नदी संरक्षण संस्था (एनआरसीटी) र फ्रेन्ड्स क्लबकुपण्डोलको संयुक्त आयोजनामा एकदिने बाग्मती जलयात्रा उत्सव मनाइएको हो ।

प्रकाशित : भाद्र ९, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्