गोसाइँकुण्डमा भक्तजनको घुइँचो [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — जनैपूर्णिमाका दिन धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा सयौं भक्तजनहरुले स्नान गरेका छन् । भाद्र १ गतेबाट १० गतेसम्म गोसाइँकुण्डमा मेला लागेको थियो । यसवर्ष ८ देखि ९ हजार भक्तजनहरुले कुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जीव डिएमले बताए ।


Esewa Pasal

प्रकाशित : भाद्र १०, २०७५ १८:३४

मेला भर्न जिल्लाका स्थानीय तथा नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, चितवन, मकवानपुर, सिन्धुली काठमाडौं उपत्यकालगायत देशैभरका हिन्दु तथा बौद्ध धर्मालम्बीहरु गोसाइँकुण्ड पुगेका थिए । कुण्डमा स्नान गर्दा आफूले चित्ताएको पूरा हुने र पितृ तर्ने विश्वासले आफू गोसाइँकुण्डमा स्नान गर्न आएको मकवानपुरका अमृतप्रसाद बोलखेले बताए । उनले भने, 'गोसाइँकुण्ड त पुन्यभूमि रहेछ ।'

Yamaha

जनैपुर्णिमाका दिन सबै देवी देवताहरुको गोसाइँकुण्डमा जमघट हुने भएकाले उक्त दिन कुण्डमा पूजा तथा स्नान गर्दा मनमा आनन्द हुने भक्तजनहरुमा विश्वास छ । भक्तजनहरुले कुण्डमा स्नान गरेपछि जनै फेर्ने र रक्षाबन्धन समेत गरेका थिए । बौद्धधर्मका भक्तजनहरु भने झाँक्रीसहित नच्दै कुण्डको परिक्रमा गर्दछन् । गोसाइँकुण्ड जीवनमा एक पटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल मानिन्छ । यो स्वदेश तथा विदेशमा समेत प्रसिद्ध छ । गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । पौराणिक कथनअनुसार परापुर्व कालमा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा उत्पन्न कालकुट विष सेवन गरेका भगवान शिवले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात् त्रिशूल धारा उत्पतिपछि धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भन्ने किम्बदन्ती पाइन्छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ रहेको प्रसिद्ध तीर्थस्थल लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । यो गोसाइँकुण्ड समुन्द्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा छ । यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ । नेपालका चार धाममध्ये एक धामको रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक विशेष मेला लाग्ने गर्दछ । जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्डहरुलाई २०६४ साल असोज ६ गते रामसार साईटमा सूचीकृत गरिएको छ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत करिब १०८ वटा कुण्ड रहेको अनुमान छ । यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति, चराहरु रहेका छन् ।

कुण्ड नजिकै अमरसिंह गुफा, अमरसिंहको चिहान रहेको छ । घट्टेखोला, देउराली, डिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता ठाउँहरुबाट मनोरम दृश्यहरु अवलोकन सकिन्छ । यस वर्षको मेलामा नेपाली सेनाको कालिजंग गण, नेपाल रेडक्रस सोसाइटी नेपाल रसुवा शाखा, हिमालय उदार संघ, सक्षम नेपाल तथा जिल्ला स्वास्थ्य कार्यालय विभिन्न स्थानमा स्वास्थ्य राखेका थिए । कुण्डमा भक्तजनबाट हुने फोहर संकलन गर्न हरित युवा पर्यटन विकास समाज, नेपाल स्काउ, स्यामेवाङफेल माविका रेडक्रस जुनियर सर्कललगायत विभिन्न सामाजिक संस्था सक्रिय रहेका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बलात्कारपछि हत्यामा बाँचुन्जेल जेल

मकर श्रेष्ठ

काठमाडौँ — मुलुकमा फौजदारी संहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।

प्रतिकात्मक तस्बिर

संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेमा, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेमा र जबर्जस्ती करणी गरी ज्यान मारेमा बाँचुन्जेल जेल सजाय तोकिएको छ ।

संहिताको दफा ४१ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै कसुर गर्ने कसुरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।’

संहिताले बलात्कारको परिभाषाको दायरा पनि बढाएको छ । कसैले कुनै महिलाको सहमतिबिना बलात्कार गरेमा, सहमति लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई बलात्कार गरेमा बलात्कार मानिएको छ ।

बालिका बलात्कार गर्नेलाई बढीमा २० वर्षसम्म कैद हुने व्यवस्था छ । बलात्कार गर्ने व्यक्तिलाई घटनाको परिस्थिति र महिलाको उमेरका आधारमा सजाय घटीबढी निर्धारण गरिएको छ । १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा सोह्र वर्षदेखि बीस वर्षसम्म सजाय हुनेछ ।

दस वर्षदेखि चौध वर्षभन्दा कम उमेरकी बालिका भएमा चौध वर्षदेखि सोह्र वर्षसम्म जेल सजाय हुनेछ । चौधदेखि सोह्र वर्षभन्दा कम उमेरकी बालिका बलात्कार भएमा बाह्र वर्षदेखि चौध वर्षसम्म सजाय हुनेछ ।

सोह्र वर्षदेखि अठार वर्षभन्दा कम उमेरकीलाई बलात्कार गर्नेलाई दस वर्षदेखि बाह्र वर्षसम्म जेल सजाय हुनेछ । अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दस वर्षसम्म जेल सजाय तोकिएको छ ।

वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने प्रावधान छ । सामूहिक रूपमा बलात्कार गरे, ६ महिनाभन्दा बढीको गर्भवती, अशक्त, अपाङ्ग, शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई बलात्कार गरेमा उमेर अनुसार निर्धारण गरिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय तोकिएको छ ।

अरू अभियोगमा दोषीलाई जेल सजाय भुक्तान गरेपछि सरकारले सजाय माफी दिन सक्ने कानुनी व्यवस्था छ । तर बलात्कार, अपहरणलगायत मुद्दामा भने दोषी तोकिएका जेल सजाय पूरै भुक्तान गर्नुपर्छ । सरकारले सजाय माफ गर्न सक्ने व्यवस्था छैन ।

आफ्नो जात वा कुलमा चलिआएको चलन, परम्परा, मान्यताअनुसार विवाह गर्न नहुने नाताको व्यक्तिलाई बलात्कार गर्नेलाई जन्मकैद र जरिवानासमेत तोकिएको छ । आमा–छोरा, बाबु–छोरीको करणी भएमा जन्मकैद, सौतेनी आमा–छोरा, बाबु–छोरी, दिदी–भाइ, दाजु–बहिनी, ससुरा–बुहारी, बाजे–नातिनी, जेठाजु र भाइ बुहारी, देवर–भाउजूको बलात्कारलाई चार वर्षदेखि दस वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

तीन पुस्तासम्मको बज्यै, नाति, पनाति, ठूलो बाबु, काका–भतिजी, भतिजो–ठूली आमा, काकी, ससुरा–भतिजी बुहारी, मामा–भान्जी, भानिज माइजू, ठूली आमा वा सानी आमा र छोरा, सासू र ज्वाइँबीच बलात्कार भएमा तीन वर्षदेखि ६ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखेको छ ।

प्रकाशित : भाद्र १०, २०७५ १८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT