१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सवारीमा जोरबिजोर प्रणालीः यात्रुलाई सास्ती

तस्बिर : अंगद ढकाल

काठमाडौँ — काठमाडौं पेप्सीकोला टाउनप्लानिङ बस्ने १९ वर्षीया आरती पौडेल बुधबार बिहानै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस पुगिन् । घरबाट बिहानै हिँड्दा उनलाई बस चढ्न कुनै समस्या भएन । उनले सजिलै सधैं झैं बस चढिन् र आफ्नो गन्तव्यमा पुगिन् । उनलाई भदौ १३ देखि १५ गतेसम्म सरकारले जोर र बिजोर नम्बर अनुसार सवारीसाधन चलाइएको छ भन्ने याद त थियो तर सजिलै बस पाइएकोले फर्कँदा पनि सजिलै होला भन्ने सोचिन् र गन्तव्यमा निस्किन् ।

ल क्याम्पसमा उनले आफ्नो काम सकिन् । त्यतिबेला बिहानको ९ बजिसकेको थियो । अब काम सकेपछि घर फर्किन रत्नपार्कतिर हिँडिन् । उनी रत्नपार्कबाट पेप्सी जाने बस चढ्न रत्नपार्क पुगेकी हुन् । रत्नपार्कमा उनले काँडाघारी जाने बस पाइनन् । करिव १ घण्टासम्म पनि बस आएन । उनले भनिन्, 'बस आउँछ कि भनेर कुर्दा कुर्दा १ घण्टा बित्यो तैपनि बस आएन । यस्तो सास्ती त नाकाबन्दीमा पनि पाइएको थिएन ।'

त्यसपछि आरतीले बानेश्वरसम्म जाने टेम्पो समाइन् । उनले भनिन्, 'बानेश्वरसम्म जाम । त्यसपछि काँडाघारी जाने पाइएला नत्र फेरि कोटेश्वरसम्म पुगेर बस फेर्नु पर्ला ।'भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको लागि भन्दै सरकारले १३ गतेदेखि जोर र बिजोर नम्बरका सवारी चलाउन दिएको निर्देशनले हजारौ यात्रुले सास्ती खेप्नु परेको छ ।

सरकारले नीजि तथा सार्वजनिक सवारीमा यस्तो नियम लगाउँदा यात्रुहरु समस्या परेका छन् । धेरै यात्रुहरुले सरकारले सार्वजनिक सवारीसाधन भने सञ्चालन गर्न दिनुपर्ने बताए । उपत्यकामा चल्ने ठूला, आरामदायी, लामो रुट भएका बसलाई जोर बिजोर प्रणाली नलगाउन उनीहरुले आग्रह गरेका छन् । धेरै यात्रुले सामाजिक सञ्जालमा पनि धेरै सार्वजनिक बसमा समेत जोर बिजोर प्रणाली लगाएको भन्दै विरोध गरेका छन् ।

यात्रुले उपत्यकामा चल्ने साझा, मयुर, दिगो, नेपाल, समृद्ध, मेट्रो सिटी, बुढानिलकण्ठ, ओरेन्ज, महानगर, महासागर, अन्नपूर्ण लगायतका ठूला सार्वजिनक सवारीलाई तीनैदिन चल्न दिनुपर्ने बताए । आरतीले भनिन्, 'ठूला ठूला बस चलाउन दिए धेरै यात्रु बोक्थे । यसरी घण्टौंसम्म कुरेर बस्नु पर्दैन थियो नी। '

तस्बिरः भुषण तुलाधरको ट्विटबाट

प्रकाशित : भाद्र १३, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्