१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यस्तो देखियो मुसलधारे पानी परेपछि...[फोटोफिचर]

शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन

काठमाडौँ — थापाथली आउने क्रममा शुक्रबार ठीक ४ बजे भद्रकालीको आकाशे पुलमा उभिएर भृकुटीमण्डपतर्फको चहलपहल नियालिरहेको थिएँ । बिम्स्टेक सम्मेलन समापन भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साढे ४ बजे आसपास पशुपतिको दर्शन गर्न जाने भन्ने खबर सहकर्मी हेमन्त श्रेष्ठबाट सुनेको थिएँ । त्यसकै प्रभाव हुन सक्छ, ठीक यसैबेला भृकटीमण्डपमा सवारीसाधन धमाधम रोकिन थाले ।

क्षणभरमै गाडीको लस्कर पुरानो बसपार्क पुग्यो । ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी सडकमा सक्रिय हुन थाले । तीनकुने, कोटेश्वर, गौशाला, चाबहिल, बौद्धतर्फ गुड्ने गाडी धमाधम रोकिन थाले ।

यसै बेला पानी दर्कियो । भद्रकालीबाट माइतीघर जाने वैकल्पिक बाटोमा हतारिँदै गन्तव्यतर्फ जाने सर्वसाधारणतर्फ मेरो ध्यान खिचियो । म त्यहीं बाटो माइतीघरतर्फ लागेँ । बेस्सरी पानी दर्किएकाले तीनजना महिला अम्बाको बोटमुनि ओत लिइरहेका थिए । त्यहाँ नजिकै निकै हतारिएर भद्रकालीतर्फ पाइला चाल्दै गरेका एक गलैंचा व्यापारी आफ्नै गलैंचालाई ओढेर ओत लिँदै गरेको देखेँ । करिब ३० सेकेन्ड नकट्दै माइतीघरबाट हुइँकिएर आउँदै गरेको मोटरसाइकलले ध्यान खिच्यो । मोटरसाइकल रोकियो । मोटरसाइकलको पछिल्लो सिटमा बसेकी महिलाले छाता के उघारेकी मात्र थिई, बतासले छाता उल्टियो । सोझ्याउँदै गर्दा महिला थप भिजिसकेकी थिई । छाता धौधौ सोझ्याएर उनीहरु हुइँकिए ।

माइतीघर पुग्दा त्यहाँ देखिएको केही दृष्यमा अडिएँ । यसो सोच्दा बबरमहल खण्डतर्फ जाने निधो गरेँ । बानेश्वर र कोटेश्वरबाट आउने गाडी संख्या निकै कम देखिन्थे । प्राय:जसो बस र माइक्रोले ढोका खुला राखेरै रत्नपार्कतर्फ मोडिरहेका थिए । गाडीमा यात्रुहरु कोचाइएकाले पनि ढोका लगाउन असहज भइरहेको हुनुपर्छ । बाटो काटेर बबरमहलको सिंहदरबार साइडतर्फ लागेँ । सडकछेउमा छाता ओढेर गाडीको पर्खाइमा रहेका सर्वसाधारणको संख्या बढ्दो थियो । पानीको दर्काइ थामिने संकेत देखिएन । केही प्रहरी नजिकैको घरको ओत लिएर सुस्ताउँदै थिए । मानौं, उनीहरु वर्षात्‌ले निरीह बनेका छन् । रत्नपार्कबाट छिटफुट आउने गाडीमा कोचिएरै सर्वसाधारण सास्तीको यात्रामा थिए भने गाडी पर्खिनेहरु थप चिन्तित देखिन्थे । आंशिक खाली आउने केही थान गाडीहरुमा चढ्न पाउँदा ती सर्वसाधारण खुसीले दङ्ग हुन्थे ।

तैपनि, पानी रोकिने छाँट देखिएन । एकाधले खाली ट्याक्सी देखेको खण्डमा रोकेरै भए पनि महँगो मोलमा गन्तव्यतर्फ लाग्ने गर्थे भने धेरैले सार्वजनिक बस धैर्यसाथ कुर्दथे । यस्तो दृश्य कैद गर्दैगर्दा एक हातले छाता समाएर जोखिमको यात्रा साइकलको यात्रा गर्नेहरु बाक्लै देखिन्थे भने मोटरसाइकलमा यात्रा गर्नेले बडो मिलापका साथ छातासहितको सुरक्षित यात्रामा गरिरहेका थिए । यसैबेला खाली खुट्टा हतारिएर पाइला चाल्दै गरेकी युवतीले ध्यान खिचिई । अनुमान लगाएँ, अग्लो हिल चप्पल लगाएर जलमग्न सडकमा हिँड्दै गर्दा अप्ठेरो भएपछि चप्पल फुकालेकी हुनुपर्छ । उनकी साथीले त्यो एकजोर हिल चप्पल हातमा लिएकी थिइन् भने खुट्टाको दुखाइले साथीकै भरमा ती युवती सम्हालिएर घरतर्फ लाग्दै रहिछन् । हाँसो लाग्ने जस्तो भए पनि त्यो दृश्य पक्कै पनि दयालाग्दो थियो ।

केही समयपश्चात् पानी पर्न रोकिएपछि थापाथलीतर्फ लागेँ । थापाथली क्याम्पस गेटको अघिल्तिरको जावलाखेल, लगनखेल, सातादोबाटोतर्फ जाने बस स्टेशनमा गाडी पर्खिने सर्वसाधारणको भीड देखियो । पातलिएर आउने गाडीमा उनीहरु चढ्न ठेलमठेल गरिरहेका थिए । नेपाल यातायातको एक बसमा यात्रुको चाप निकै थियो । तैपनि, ती गाडी स्टाफको मन हुर्केको थिएन । सहचालक पछिल्लो झ्यालमै चढेर भित्रका यात्रुलाई जबरजस्त कोचाइरहेका थिए । यो अवस्थामा यात्रुलाई अरु विकल्प पनि थिएन ।

यात्रुहरु निकै निरीह भइरहेको अवस्था थियो । नजिकैका ट्राफिक प्रहरीहरु उक्त दृश्य देखेर पनि नदेखेझैं गरिरहेका थिए । बरु उनीहरु गाडी स्टाफहरुलाई यात्रु कोच्न थप मदत गरिरहेका थिए । योबेला यात्रुले ट्राफिक प्रहरीतिर प्रश्न उठाउँदा बकाइदा साथ उनीहरु बडो सहज साथ उल्टै सवाल जवाफ तेर्स्याइरहेका हुन्थे । यति बेलासम्म घडीको सुईले ठीक ५ बजेको संकेत दियो र म फटाफट कार्यालयतर्फ लागेँ ।बिम्स्टेक सम्मेलन समापन भएपछि विशिष्ट पाहुना स्वदेश फर्किने क्रममा राजधानीमा सडक खाली गरिँदा सर्वसाधारणको दैनिकी प्रभावित बन्यो । बुधबारदेखि शुक्रबारसम्म लागू भएको जोर बिजोर प्रणालीले गर्दा पर्याप्त सवारी साधन नचल्दा सर्वसाधारणले ट्राफिक समस्यासमेत झेल्नु पर्‍यो । यसमाथि झन् शुक्रबारको छोटो झरीले काठमाडौंवासी थप झमेलामा फसे ।

प्रकाशित : भाद्र १५, २०७५ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्