कालीगण्डकीमा बाढीको वितण्डा

घनश्याम खड्का

म्याग्दी — बुधबार दिनभर चर्को घाम लागेको थियो । साँझसम्म पनि पानी पर्ने कुनै संकेत थिएन साझ सात बजेपछि म्याग्दी, रघुगंगा खोला र कालीगण्डकी नदीमा अचानक अाएकाे बाढीले तटीय क्षेत्रमा वितण्डा मच्चाएको छ ।

कालीगण्डकीमा आएको बाढीले जिल्ला सदरमुकाम बेनी जोगाउन हिउँदभरी करोडौं खर्चेर निर्माण गरिएको आरसीसी पर्खाल भत्काएको छ । जलउत्पन्न प्रकोप सव डिभिजन कार्यालय बाग्लुङले निर्माण गरेको ५ सय मिटर पर्खाल मध्ये करिब २ सय मिटर बाढीले भत्काएको छ । मिलेमतोमा ठेकदारले वालको फाउण्डेसन नदीको सतह भन्दा माथि राखेकोले बाढीले ढलाउन सहज बनेको हो । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा यस अगाडि पनि पटक–पटक पहिरो झर्ने र थुनिने तथा बाढीले बजार कटान गर्दै आएको थियो ।

‘ठेकदार र जलउत्पन्न प्रकोप सव डिभिजन कार्यालयका प्राविधिकको मिलेमतो र लापारवाहीमा नदीको सतहभन्दा २ मिटर तलबाट उठाउनु पर्ने पर्खालको फाउण्डेसन जमिनको सतहबाट उठाएकोले बाढीले ढलाएको छ,’ स्थानीय बालकृष्ण सुवेदीले भने, ‘पर्खाल निर्माण भयो अव त ढुक्क भयो भन्ने थियो । भ्रममा रहेछौं । घुसखोरी र भष्टाचारको नमुना यही हो ।’

भारी अविरल बर्षापछि धौलागिरी, टुक्चे र निलगिरी हिमाल फेदीका जलाधार क्षेत्रमा पहिरो जाँदा म्याग्दी, रघुगंगा र कालीगण्डकीमा बाढी आएको हो । बाढीपहिरोले रघुगंगा गाउँपालिका–८ मा पर्ने मंगले, घाँसीखर्क, द्वारी, ढाडखर्क बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । रघुगंगा गाउँपालिका–७ कुइनेमंगलेका वडाध्यक्ष गमन छन्त्यालकाअनुसार छहरेखोलामा आएको बाढीले १५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजनाका ४ वटा पोल ढलाएको छ । तल घाँसीखर्कस्थित रितुङ माविमा क्षति पुगेको छ । वडाध्यक्ष छन्त्यालकाअनुसार छहरेखोलामा आएको बाढीले पात्लेखर्क, श्रीखर्क, ढाँडबस्ती जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ ।

पश्चिम धौलागिरी वेसक्याम्पबाट आउने म्याग्दी खोलामा बुधबार साँझ एक्कासी बाढी आए पनि मानविय तथा ठूलो भौतिक क्षतिको खबर छैन । धौलागिरी वेसक्याम्प नजिकै इटलीक्याम्प क्षेत्रमा गएको पहिरोले म्याग्दी खोलामा बाढी आएपछि तटीय क्षेत्रमा सामान्य कटान गरी रुखदाउरा बगाएर ल्याएको थियो ।

‘धौलागिरी र निलगिरी क्षेत्रमा भीषण बर्षापछि कालीगण्डकी, रघुगंगा र म्याग्दी खोलामा बाढी आएपछि मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति पुगेको छ,’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘क्षतिको विवरण संकलन भैरहेको छ । रघुगंगा गाउँपालिका–८ मा स्कूल र स्वास्थ्यचौकीमा क्षति पुगेको छ ।’

त्यसैगरी हिमालपारीको मुस्ताङमा पनि बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । निलगिरी हिमालमुनीको मार्चे लेकबाट झर्ने तमोखोलामा आएको बाढी र पहिरोले थासाङ्ग गाउँपालिका–२ बग्ने कोवाङ्ग, सिर्कुम, ताक्लुङ्गमा क्षति पुर्‍याएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्