सुतली उत्पादन हुँदैछ विराटनगर जुट मिल्समा

देवनारायण साह

मोरङ — मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्स १३ दिनदेखि सञ्चालन भइरहेको छ । यसअघि पटकपटक सञ्चालन भएर उत्पादनै नगरी बन्द भएको मिल्समा भने यसपटक जुटको सुतली उत्पादन भइरहेको छ । महिलो चरणमा जुटको सुतली उत्पादन गरेर बजारमा लग्ने मिल्स सञ्चालकको लक्ष्य छ । दोस्रो चरणमा जुटको बोरा र तेस्रो चरणमा जुटको कपडा उत्पादन गर्ने उद्देश्यका साथ पून: एक पटक जुट मिल्स सञ्चालन गरिएको हो ।

मिल्सका वेस्टेज क्वालिटी कन्ट्रोल इञ्चार्ज सुचेन्द्र झाले १३ दिनमा ४ टन सुतली उत्पादन भएको र २० टन जुट मिल्समा प्रोसेसिङ्गमा रहेको बताए । ‘धेरै दिनदेखि बन्द रहेको मिल्स मर्मत गर्दै सञ्चालन गरेपछि राम्ररी सञ्चालन हुन समय केही दिन लाग्छ,’ उनले भने, ‘भदौ २६ गतेबाट परीक्षणका लागि सञ्चालन गरिएको मिल शनिबारदेखि दैनिक एक/डेढ टन उत्पादनको लक्ष्यका साथ सञ्चालन भएको छ ।’ मिल्सका अध्यक्ष बसन्त बनले दैनिक ६ टन जुटको सुतली उत्पादनका लागि आवश्यक जनशक्तिलगायतको स्टिमेट तयार गर्न निर्देशन दिएपछि स्टिमेट दिएको उनले बताए ।

यसअघि मिल्स सञ्चालनका लागि खरिद गरिएको ६० टन जुटबाट मिल्स सञ्चालन गरिएको झाले बताए । मिल्समा अब २० टन जति जुट मात्रै बाँकी रहेको उनले सुनाए ।

‘मिल्सभित्र मात्रै अहिले ५४ जना प्राविधिक र मजदुरले काम गरिरहेका छन् र दैनिक ६ टन उत्पादनका लागि थप २ सय जना मजदुर र प्राविधिक आवश्यक हुन्छ,’ उनले भने, ‘जुट ब्याचिङ्ग आयल १ सय लिटर, पी फोर्टी ७ सय ५० ग्राम, बबिन क्यारियर २ हजार ४ सय र स्पेयर पार्टस आवश्यक हुन्छ ।’

प्रकाशित : आश्विन ९, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्