१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बस्तीमै चापाकल सुकेपछि... [फोटोफिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — बुद्धभूमि नगरपालिका १० देवपुरा, लौहरौला र सुकुम्बासी बस्तीमा चापाकलमा पानी नआउँदा जनजीवन कष्टकर बनेको छ । शनिबारदेखि नलमा पानी नआउँदा जनजीवन सास्ती व्यहोर्न बाध्य छन् । सबैभन्दा पहिलो देवपुराका गोरख केवटको नल सुक्यो ।

त्यसपछि विस्तारै २ घण्टामै पुरै गाउँको चापाकलबाट पानी आउन छाड्यो स्थानीय उमेश केवटले भने । ‘प्रचण्ड गर्मीका बेला गाउँमा पानी नआउँदा समस्या भयो’ बुवालाल केवटले भने, ‘एक गिलास पानीका लागि पनि तर्सनु पर्ने अवस्था आयो ।’ पिपरहवास्थित तिलौराकोट इँटा उद्योग (सोनी इँटा) छेउमा डिप बोरिङ सञ्चालन गर्दा ३ गाउँका सय घरका ५ सय बढी नराम्ररी प्रभावित बनेका छन् । ५ सय फिट तल गाडिएको बोरिङ सञ्चालन गर्ना साथ छेउछाउका देवपुरा, लौहरौला र सकुम्बासी बस्तीका ह्याण्ड पम्पमा सुकेका छन् ।

चापाकल जति चलाए पनि पानी आँउदैन् । मुस्किलले थोपा खस्छ । देवपुराका सुभाष र केदार केवटको नल चलाउँदा चलाउँदै फुट्यो । चापाकलको माथा देखाउँदै भने- 'हाम्रो पीडा कस्ले सुन्ने ? मान्छे पानी पिउन नपाएरै मर्ने भए ? दुस्मनलाई यस्तो पीडा दिइँदैन्, तर यहाँ यस्तो भइरहेको छु ।' इँटा उद्योगमा जाँदा हाम्रो कुरा सुनवाई हुँदैन । बिहानदेखि साँझसम्म पानी नभई हुँदैन । चुलोचौकोदेखि कपडा धुन, शौचालय जान र नुहाउन पानी चाहिन्छ । पानी नभएर पछि कुन्ती केवटले एक हल गोरुलाई सुख्खा दाना मात्र खुवाउँदै गरेको देखाइन् ।

'धानबाली, तरकारीका बेर्ना पनि सुकेका छन् । ३ कठ्ठामा फुलगोभी, टमाटर र खुर्सानी रोपेको थिएँ, पानी राख्न नपाउँदा डढेर मर्न थालेको छ' गोरख केवटले भने । ‘१५ हजार लगानी डुब्ने भयो’ उनले भने, ‘कसलाई भन्न जाने पीडा ?’पानी नहुँदा गाउँमा सय हेक्टर बढीमा लगाएको तरकारीबाली डढ्न थालेको छ । सिँचाई अभावमा बालीलाई समस्या हुन लागेको हो । यता डिप बोरिङले समस्या नपारेको तिलौराकोट इँटा उद्योग (सोनी इँटा)का सञ्चालक महबुव मियाँले बताए । पिपरहवाका कृषकको उपभोक्ता समूह बनाएर उनले इँटा उद्योगका लागि उक्त डिप बोरिङ गाडेका हुन् । 'डिप बोरिङको योजना बनाउने, गाड्ने कामको नेतृत्व उनले गरे' एक स्थानीयले भने, 'कृषकभन्दा उनको उद्योगलाई फाइदा पुगेको छ । त्यही भएर उनी डिप बोरिङ चाहिन्छ भनेर लागेका छन् ।'


प्रकाशित : आश्विन ९, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्