१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मुटु दिवसमा साइकल र्‍याली [फोटोफिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — विश्व मुटु दिवसका अवसरमा शनिबार सदरमुकाम तौलिहवामा साइकल र्‍याली निकालिएको छ । पैडल पावर अफ कपिलवस्तु र साइकल राईडर्स अफ कपिलवस्तुको संयोजन र बिङ्स फ्रेन्ड्सको आयोजनामा र्‍यालीको आयोजना गरिएको हो । यो दिवस 'साइकल चलाऔं, मुटु स्वस्थ्य राखौं' भन्ने मुल नाराका साथ हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा मनाइन्छ ।

साइकल चलाए मुटु स्वस्थ्य हुन्छ भन्ने सचेतना जगाउन यहाँ र्‍याली गरिएको थियो । कपिलवस्तु बहुमुखी क्याप्सबाट सुरु भएको र्‍याली तिलौराकोट दरबार, गौढीचौक, कुदान, बर्दहवा हुँदै जमुवार र प्रशासन चौक हुँदै बुद्धपद्म उमाविको खेल मैदानमा पुगेर टुंगिएको थियो । १६ किमि लामो यात्रामा विभिन्न उमेर समूहका १ सय २५ जना सहभागी थिए । र्‍यालीमा प्रजिअ अर्जुनप्रसाद पोख्रेल, सहायक प्रजिअ रामेश्वर अर्याल, उपरीक्षक मनोजकुमार यादवसमेत सहभागी थिए ।

र्‍यालीमा कपिलवस्तु नगरपालिका ३ का ७० वर्षीय विद्यानिवास त्रिपाठी र उनका दुई छोरासहित ९ वर्षीया नातिनी सानबी त्रिपाठीसमेत सहभागी थिइन् । बढ्दो वातावरण प्रदूषण तथा खानपानमा मिसावटले मुटुलाई असर गरेकाले साइकलिङ्ग गरेर मुटुलाई स्वस्थ्य राख्ने विषयमा सचेतना प्रवाहका लागि कार्यक्रम आयोजना गरिएको आयोजक आदिल खानले बताए । पहिलोपटक गरिएको कार्यक्रम अब नियमित गरिने उनले बताए ।

प्रकाशित : आश्विन १३, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्