जगदीशपुरमा डुङ्गा सरर...

मनोज पौडेल

कपिलबस्तु — चराको स्वर्ग मानिने जगदीशपुर तालमा डुङ्गा सञ्चालन गरिएकोछ । कपिलबस्तु नगरपालिका वार्ड नं. ९ र १० को सहयोगमा डुङ्गा सञ्चालन गरिएको हो ।

‘पर्यटकीय आकर्षण बनाउन डुङ्गा सञ्चालन गरियो’ वार्ड नं. ९ का अध्यक्ष शिव बाग्लेले भने, ‘अब चरा अवलोकन गर्न आउनेहरु नजिकबाट चरा हेरेर निक्कै रोमाञ्चित हुन्छन् ।’ पर्यटकीय आकर्षण बढछ उनले भने । चरा हेर्न मात्रै टाढाटाढबाट आउने पर्यटक डुङ्गामा चढेर धेरै रमाउछन् ।  

तालमा पाईडलले चलाउने ६ वटा डुङ्गा सञ्चालन गरिएकोछ । दुबै वडाले १० लाखमा उक्त डुङ्गा सञ्चालन गरेका हुन् । वडा कार्यालयले ठेक्का दिई डुङ्गा संचालन गर्नेछ । समय अनुसार भाडा लिईने छ । विद्यार्थीलाई छुट दिईने छ । ‘डुङ्गा चलेपछि स्थानीय पनि आयआर्जन रोजगारीसँग जोडिन्छन्’ वडा नं. १० अध्यक्ष मोहन शर्माले भने, ‘त्यसपछि तालका बारेमा स्थानीयको आक्रोश हराउँछ ।’ अहिलेसम्म तालबाट बाहिरका मान्छेले मात्र फाईदा लिएको छन्, त्यही भएर स्थानीयमा तालबारे सकारात्मक धारणा नभएको उनको भनाई छ । डुङ्गा सञ्चालन पछि स्थानीय निक्कै उत्साहित छन् । 

एउटा डुङ्गामा ४ जना सयर गर्न मिल्छ । डुङ्गा सयर गर्नेलाई सुरक्षात्मक लाईपल ज्याकेट लगाएर पठाईन्छ । 'डुङ्ग चढेर निक्कै आनन्दित भएँ' कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले भने । 

सरकारले पनि ५ प्रदेशको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा ताललाई घोषणा गरेको छ । बुद्धस्थल घुम्न आउने पर्यटकका लागि नयाँ गन्तब्यका रुपमा जगदीशपुरको चराले आकर्षण थप्छ । तालमा चरा अवलोकन गर्न आउने पर्यटक बिस्तारै बढ्दै छन् । 

प्रदेशले पनि चालु आबमा भौतिक पुर्वाधारका लागि २ करोड र प्रचारप्रसारका लागि १५ लाख विनियोजन गरेको छ । एकै ठाउँबाट नेपालमै सबैभन्दा धेरै चरा देख्न सकिने हुँदा तालको आकर्षण उत्तिकै बढेको छ । तालमा विश्वमै दुर्लभ मानिने भुडीफोड गरुड, सारस, श्वेत आँखीभौं र डंगर गिद्ध सजिलै देखिन्छ । त्यस्तै मरुल, सुनजुरे हाँस, बिजुला गैरी र सिन्दुरे हाँस देखिन्छ । सिलसिले हाँस, सुईरोपुछ्रे, चखेवा, बगाले सिमकुखुरा, जलेवा, सुईरोठूडे, मालक र हरियो टाउके हाँस गरि २० हजार चरा आउने गर्छन् ।

१ सय ५७ हेक्टरमा फैलिएको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत छ । तालमा १ सय ६७ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने आईयुसीएनले गरेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चरा पनि देख्न पाईन्छ । अहिले तालमा ४४ बढी प्रजातिका पानी चरा सजिलै देख्न सकिन्छ । ताल नेपालमा पाईने २७ प्रजातिका चराका लागि महत्वपुर्ण क्षेत्रका रुपमा रहेको छ । ताल सिमसार र जैविक विविधताले निक्कै महत्वपुर्ण छ । सदरमुकाम तौलिहवादेखि ११ किमि उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं. ९ र १० मा पर्ने ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । जिल्ला समन्वय समिति संयोजक नारायणप्रसाद खनाल र कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले बुधवार डुङ्गा सयर गरेर उदघाटन गरे ।

प्रकाशित : आश्विन २६, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्