१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा

शब्द/तस्बिर : किरण पाण्डे

काठमाडौँ — शाह राजाहरुको शक्तिको प्रतिक श्रीपेच र राजदण्ड सोमबारदेखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार संग्रहालयमा उक्त श्रीपेच र राजदण्ड प्रदर्शनीमा राखिएको हो । श्रीपेच बहुमूल्य रत्न र धातुबाट बनाइएको छ ।

जनआन्दोलनको बलबाट स्थापित संविधान सभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि तत्कालीन राज ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेर दरबार छाडेका थिए ।

२०६५ साल फागुन १५ गते नारायणहिटी दरवार संग्रहालयको उद्घाटन गरेर त्यस भित्रका ५२ मध्ये १९ वटा कोठालाई सर्वसाधारणको लागि खुला गरिएको थियो । तर, श्रीपेच र राजदण्डलाई भने सुरक्षाको कारण देखाएर प्रदर्शनीमा राखिएको थिएन । दरबारभित्रकै शैलुङ कक्षमा सुरक्षित राखिएको थियो ।

श्रीपेच र राजदण्ड सार्वजनिक समारोहमा संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विशेष सुरक्षा व्यवस्थाका साथ प्रदर्शनीमा राखिएको बताए । उनले स्वदेशी र विदेशी पर्यटकका साथै अध्ययताहरुका लागि पनि यो महत्वपूर्ण हुने बताए ।

नेपालका राजाहरुले कहिलेदेखि श्रीपेचको प्रयोग गर्न थाले भन्ने कुराको प्रमाणिक दस्तावेज नभएपनि राजेन्द्रबिक्रम शाहको पालादेखि राजाहरुले र माथवरसिंह थापाको पालादेखि प्रधानमन्त्रीले प्रयोग गर्न थालेको बताइन्छ ।

श्रीपेच र राजदण्ड सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबार संग्रहालयलाई दरबार इतिहास संग्रहालयको रुपमा विकास गरिने घोषणा गरे । त्यसमा हालसम्मका शासकहरुको इतिहासलाई समेटिने उनको भनाई थियो ।

प्रकाशित : आश्विन २९, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्