१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कर्फ्यु खुकुलो पारेपछि कृष्णनगर....[फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — कर्फ्यु खुकुलो बनाइएपछि सीमा बजार कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । दसैंमा दुर्गामूर्ति परिक्रमा गर्ने क्रममा ढुंगा हानेको भन्दै विवाद बढेपछि आइतबार साँझ ५ बजेबाट स्थानीय प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु सोमबार साँझ ५ बजेसम्म हटाइएको छ । जिल्ला सुरक्षा समिति बैठकले बिहान ८ बजेबाट दिउँसो १२ बजेसम्म लगाइएको कर्फ्यु ५ घण्टा थपेको हो । स्थानीयवासीको आग्रहमा कर्फ्यु हटाइएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए ।

सर्वसाधारण विस्तारै बाटोमा निस्कन थालेका छन् । कृष्णनगर बजारका अधिकांश पसल बन्द छन् । फाट्टफुट्ट पसल खुल्न थालेका छन् । नेपालतिर पसल नखुलेपछि खाद्यान्न र उपभोग्यवस्तु खरिद गर्न नागरिकहरुको घुइँचो पारिको बढनी बजारमा लागेको छ । बाटो सुनसान छ । मस्जिद मन्दिरमा प्रहरी तैनाथ छन् । दैनिक आवश्यकताका सामग्री खरिद गर्नका लागि सीमामा तैनाथ भारतीय एसएसबीले नेपाली नागरिकलाई आवतजावत गर्ने सुविधा दिएको छ । बसहरु चलेका छैनन् । ५/७ वटा ट्याम्पो रिक्सा चलेका छन् । सुरक्षा सतर्कता बढाइएको छ । ५ सय बढी सशस्त्र र नेपाली प्रहरी तैनाथ छन । ‘कर्फ्यु हटेर धेरै सजिलो भएको छ’ स्थानीय धर्मवीर मौर्यले भने, ‘विस्तारै जनजीवन सहज बन्दै छ ।’

नेपालबाट दसैं मनाएर भारततिर जाने प्रवासी नेपालीको पनि विस्तारै संख्या बढिरहेको नायव उपरीक्षक रवि रावलले बताए । अवस्था सहज बन्दै गएपछि कर्फ्यु हटाईएको समय बढाउँदै लगिएको प्रहरी प्रमुख अच्युतप्रसाद पुडासैनीले बताए । दिउँसोको सुरक्षा अवस्था विश्लेषण गरी ५ बजेपछि कर्फ्युलाई निरन्तरता दिने/नदिनेबारे निर्णय लिइने उनले बताए । तनावका कारण शुक्रबार विसर्जन गर्न लागेको दुर्गामूर्ति आइतबार साँझ ७ बजेमात्र विसर्जन गरिएको थियो । कर्फ्यु लगाएर मूर्ति स्थानीय सुरई खोलामा विसर्जन गरिएको थियो । भारतीय एसएसबीले पनि सीमा असहज स्थिति भएकाले सतर्कता अपनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्