कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बस्ती पसेको गैंडासँग सेल्फी... [फोटोफिचर]

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाका लागि देश विदेशमा प्रख्यात छ । यो पर्यटकीय सिजनमा गैंडा हेर्नकै लागि चितवन राष्ट्रिय निकुञ्जमा देशी विदेशी पर्यटक खचाखच छन् । सदरमुकाम भरतपुरदेखि केही परै छ निकुञ्ज । तर यो वन्यजन्तु गैंडा मंगलबार बिहान चितवनको अति व्यस्त बजार नारायणगढदेखि केही तल बेलचोक बाह्रघरेको घर वस्ती क्षेत्रमा नै देखा पर्‍यो ।

भरतपुर महानगरपालिका–३ मा पर्ने बाह्रघरे क्षेत्र जिल्लाको मुख्य बजार नारायणगढ सहिदचोकबाट डेढ किलो मिटर पर पश्चिममा छ । यो ठाउँमा बिहान आठ बजे वरपर अजंगको जंगली जनावर देखेपछि खैलाबैला मच्चियो । गैंडा आक्रमक नभएको मेसो पाएपछि स्थानीयले फोटो खिच्न थाले । गैंडालाई पृष्ठभुमिमा राखेर सेल्फी खिच्ने धोको पनि पुरा गरे । गैंडा वरपरको सिरु र अन्य कलिलो घाँस खाँदै खुला ठाउँमा घाम तापेर आनन्द लिन थाल्यो ।

गैंडा टोलमै टहलिन थालेपछि हेर्नेहरुको भिड बढ्यो । हल्ला सुनेर बल्ल गैंडा आत्तिन थाल्यो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको घर आडैमा थियो गैंडा । उनले चितवन प्रहरी प्रमुख सुशिल सिंह राठौरलाई फोन लगाए । चितवन जिल्ला वन कार्यालयका कर्मचारी कृष्णहरि पण्डितको घर पनि नजिकै थियो । उनले पनि जिल्ला वन अधिकृतलाई फोन गरे । केही बेरमा सशस्त्र वन रक्षक र नेपाली सेनाको टोली आउने आश्वासन आयो ।

यति बेलासम्म स्थानीयको ठुलो घुइँचो लागेको थियो । गैंडा घरी यता घरी उता दौडन थाल्यो । तर केही बेरमा सुरक्षा टोली आएपछि भिडलाई पर हटायो । गैंडा सडकबाट तल झर्दै घोलखेत तर्फ लम्कियो ।

घोलभन्दा केही पर वीपी शान्ती नगर वन छ । नगर वनमा अहिले गैंडा बस्न थालेको छ । तर वनमा मात्रै नबसेर कहिले काँही साँझ परेपछि गैंडा बस्ती पनि छिर्छ । रातभरी चरेर गैंडा उज्यालो नहुँदै फर्कने गरेकोमा यो पटक बिहान आठ बजेसम्म पनि वस्तीमै बसेपछि कोही रमाए कोही डराए ।


प्रकाशित : कार्तिक ६, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्