फूलैफूल [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — दसैंको १५ दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमध्ये तिहार एउटा हो । तिहार आउन केही दिनमात्रै बाँकी रहँदा किसान, व्यापारीलगायत सबै नागरिकमा चटारो सुरु भएको छ । यस्तै एउटा उदाहरण बनेका छन्, काठमाडौं इचंगु हिलका फूलखेतीका किसान ।

उनीहरुलाई व्यावसायिक रुपमा लगाएको सयपत्री फूल टिप्न भ्याइनभ्याइ छ । तिहारको बेला फूलखेती किसानीलाई राम्रो आम्दानीको पाटो पनि बन्ने गर्दछ । इच‌ंगका किसान प्रति ढ्वाङ फूलको ४ सय रुपैयाँमा बिक्री गरिरहेको बताउँछन् । तिहार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । यस्लाई नै यमपञ्चक पनि भनिन्छ । यस वर्ष भाइटीका कार्तिक २३ गते परेको छ ।

हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेकाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।


प्रकाशित : कार्तिक १८, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्