कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नेपाल सम्वत्‌को पर्वतमा भव्य स्वागत

दिप्ती सिलवाल

पर्वत — ११ सय ३८ वर्षअघि शंखधर साख्वाले काठमाडौं खाल्डोका विपन्न समुदायको ऋणमोचन गरेको दिनलाई उतिबेला नेवार समुदायका सर्वसाधारणले उत्सवका रुपमा मनाए । त्यही दिनदेखि नयाँ वर्षको रुपमा मनाउँदै आएका नेवारी समुदायले अहिले पनि गोवर्धन पूजा (म्हपुजा) को दिनलाई नयाँ वर्षका रुपमा मनाउँदै अाएका छन् ।

काठमाडौं र भक्तपुरबाट बसाई सरि पर्वत आएका नेवारी समुदायले आज नेपाल सम्वत् ११३९ औं नयाँ वर्षको स्वागत गरिएको स्थानीय अगुवा बिष्णु नेवारले बताए । नेवास् देय् दबु जिल्ला कार्यसमितिको अगुवाइमा बिहानैदेखि कुश्माका नेवार समुदायले नयाँ वर्ष मनाएका हुन् ।


नेवास् देय् दबुका जिल्ला अध्यक्ष समेत रहेका बिष्णु नेवारका अनुसार बिहान सबेरै उठेर नुहाइधुहाइपछि घरघरबाट कलश र घडासहित नेवारी पोशाकमा किशोरीलाई अघि लगाएर घरबाहिर निस्किनुपर्छ ।

हरेक घरबाट कलशसहित बाहिर निस्किएका नेवार समुदाय कुश्माकै भिमसेन मन्दिरमा भेला हुन्छन् । मदिरमा सबै भेला भएपछि सामुहिक प्रभातफेरी हुन्छ । बाटोमा भेटिएकाजति सबैलाई ‘न्हुँ द या भिन्तुना’ भन्दै खुशी साटासाट गर्ने चलन छ । सामुहिक प्रभातफेरीले बजार परिक्रमा गरिसकेपछि एकै ठाउँमा भेला भएर अगुवाले नयाँ पुस्तालाई शंखधर साख्वा र नेवारी इतिहासबारे प्रस्ट्याउँछन् ।


त्यसबेला नेवारी पोशाक र संस्कृति अनि नेपाल सम्बतका १२ वटै महिना र वर्षभरिको महत्वबारे बुझाउँछन् । १२ औंशीको एक वर्ष मनाइने नेपाल संवत्मा वर्षभरिका हरेक दिनको छुट्टाछुट्टै महत्व हुने अगुवा सिपी श्रेष्ठले बताए ।

आजै साँझ म्हपुजा अर्थात आत्मपुजा गर्दा वर्षभरिका १२ महिनाको महत्व झल्किनेगरि सामाग्री जुटाएर आत्म शुद्ध गर्ने चलन छ । आज गरेको म्हपुजाले वर्षभरि गरेको जुठोलाई शुद्ध बनाउन सकिने जनविश्वास छ । प्रकाशित : कार्तिक २२, २०७५ १२:४९

प्रतिक्रिया
पठाउनुहोस्