कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तराईमा छठको तयारी, केराको व्यापार बढ्यो (फोटोफिचर)

भरत जर्घामगर

सिरहा — दीपावली सकिएसँगै तराईमा छठको तयारी सुरु भएको छ । दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई क्षेत्रमा मंगलबार मनाइने (कात्तिक २६ गते) छठका लागि केराको बिक्रि बढेको छ ।

छठको आगमनसँगै सिरहाको लहान लगायत हाटबजारमा बिक्रिका लागि राखिएको केरा । यो पर्वमा मात्रै जिल्लामा एक करोड रुपैयाँ भन्दा बढीको केराको कारोबार हुन्छ । तस्बिर : भरत जर्घामगर/कान्तिपुर

सूर्यदेवको आरधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, बासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ । त्यसैगरी, माटोबाट निर्मित पाला, हाति, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना चाहिन्छ । पर्वमा यी सामाग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ ।

छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रुपमा केरालाई नै मुख्य मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरी मनाइने यो पर्वमा फलफूलको रुपमा मुख्य मानिने केराको माग अहिले मधेसमा उच्च छ । सिरहाका लहान लगायत विभिन्न हाट बजार त्यही मुख्य फल केराले भरिएको छ ।

व्यापारीका अनुसार यो पर्वमा जिल्लामा एक करोड रुपैयाँ बढीको केरा कारोबार हुन्छ । लहानका केरा व्यापारी किसुनदेव पण्डितका अनुसार केराको माग उच्च हुँदा झापाको बिर्तामोडबाट ५ लाखको केरा खरिद गर्नुपर्‍यो । ‘यसको बिक्रीबाट तीन दिनमा १० लाख कमाई हुन्छ,’ उनले भने, ‘जिल्लामा व्यावसायिक केरा खेती नहुँदा सप्तरीको भारदह, सुनसरीको इनरुवा र झापाबाट केरा आयात गर्नुपरेको हो ।’

लहानमै केरा व्यापार गर्दै आएका अर्का व्यापारी किसन सहनीले पनि ४ लाखको केरा बिक्रीका लागि राखेका छन् । एक घरी केराको १ हजारदेखि १ हजार ५ सयसम्म बिक्री गर्दै आएका उनले पनि दोब्बर आम्दानी हुने सुनाए ।

केराको माग उच्च हुँदा उपभोक्ता भने महंगो मूल्य हाल्न बाध्य छन् । लहानमा मात्रै १२ जनाभन्दा बढी केरा व्यापारमा संलग्न छन् । त्यसैगरी जिल्लाभर मौसमी यो व्यापारमा ६० भन्दा बढी संलग्न छन् । छठमा व्रत बसे दु:ख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।


प्रकाशित : कार्तिक २४, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्