१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यसरी भिडे पहलमान [फोटोफिचर]

अवधेशकुमार झा

सप्तरी — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ स्थित लौनियामा शनिबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । लौनिया कुस्तीका लागि नेपालमै चिनिएको गाउँ हो । उक्त गाउँबाट कुस्तीका अन्तर्राष्ट्रिय खेलमा समेत नेपालको प्रतिनिधित्व भएको छ ।

शुभ दिपावली तथा छठ पर्वको अवसरमा स्थानीयहरुद्वारा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य रानी मण्डलले उद्घाटन गरिन् । तीनदिनसम्म चल्ने प्रतियोगितामा नेपालको बारा, पर्सा र सिरहाका खेलाडीका अतिरिक्त भारतको जम्मु, कानपुर, मध्यप्रदेश, दिल्ली, राजस्थान, मेरठ र हरियाणाका गरी ४२ जना पहलमानहरुबीच प्रतिस्पर्धा हुने कुस्ती खेल मुल व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।

पछिल्लो समय लोप हुन लागेको कुस्ती खेललाई जिवन्त राख्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मण्डलले बताए । कुस्ती प्रतियोगिता हेर्नका लागि ब्यापक संख्यामा दर्शक ओइरिएका छन् । ऐतिहासिक खेलको रुपमा रहेको कुस्तीलाई संरक्षणका लागि राज्यको स्तरबाट विशेष पहल हुनुपर्ने कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रानी मण्डलले बताइन् । उनले भनिन्, ‘कुस्ती खेल लोप हुँदै गएको छ, यसको संरक्षणका लागि राज्यको स्तरबाट विशेष पहल हुनुपर्छ भने स्थानीयस्तरबाट पनि संरक्षणका लागि ध्यान दिइनुपर्छ ।’

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गतकै वडा नम्बर १ स्थित तिलाठीको पाठशाला मैदानमा हरेक वर्ष सरस्वती पूजाका अवसरमा लाग्ने मेलामा पनि वर्षेदेखि कुस्ती प्रतियोगिता निरन्तर हुँदै आएको छ । खेलकुदका माध्यमबाट समाजमा एकताको भावना जागृत गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाले खेल क्षेत्रको विकासमा आवश्यक बजेट विनियोजन गर्नुका साथै कार्यक्रमहरु समेत सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए ।


प्रकाशित : कार्तिक २४, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्