कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छठपर्वको ‘छनोट’ [फोटोफिचर]

अजित तिवारी

जनकपुर — आउँदो मंगलबार र बुधबार सूर्यको आरधना गर्दै छठपर्व मनाइँदैछ । छठ पर्वको विधि–विधान भने आइतबारदेखि नै सुरु भएको छ । व्रतालुले पहिलो दिन आज नहाय खाए (नुहाएपछि खाना) गरेपछि छठपर्वको सुरुवात भएको हो ।

छठपर्वको पहिलो दिन व्रतालु बिहान सबेरै उठेर हातखुट्टाको नङ काटेर नुहाएपछि नयाँ कपडा लगाएर पूजा गरेर खाना खान्छन् । त्यसपछि व्रतालुहरुले प्रण गर्छन्, ‘जथाभावी खाँदिन र तनमनले व्रत बस्छु ।’पुत्र, पति र परिवारको कल्याणको कामना गरिने छठपर्व जनकपुरमा भने विशेष धुमधामका साथ मनाइन्छ । यहाँको पोखरी र खोलालाई आकर्षकतरिकाले सजाइएको हुन्छ ।

छठ पर्वमा उखु, केराउ, केरा, नरिवल, मिठाइ, चना, ठेकुवा, कसार, कागती र अदुवाको प्रसाद राखिन्छ । प्रसादका यी सबै प्रकार वर्षौ अघिसम्म सकभर आफ्नै घर–खेतको प्रयोग गरिन्थ्यो । तर, अहिले छठपर्वको प्रसादको सबै समाग्री बजारमा खरिद गर्नुपर्छ । जनकपुरको जानकी चोक, जानकी मन्दिर परिसरभित्र, रामचोक, शिव चोक लगायतका ठाउँमा छठपर्वको पूजा र प्रसाद समाग्री बेच्नेको ताँती लागेको छ । छठपर्वको किनमेल गर्नेको घुँइचोले बजारको कारोवार अकासिएको छ । भाकल गर्दा कुनै वर्ष एक पटक अरुसित मागेर छठपर्व गर्ने परम्परा समेत छ । त्यसैले जनकपुरमा अहिले छठपर्वको नाममा नगद र पूजा समाग्री माग्ने महिला बढेको छ ।

छठपर्वमा घिउमा गहुँको पिठोबाट ठेकुवा र चामलको कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेको सबै मनोकामना पूरा हुने विश्वास छ । छठपर्व गर्दा चर्मरोग पनि छिटो निको हुने विश्वास छ ।

तराई–मधेसमा मात्रै सिमित रहेको छठपर्व अहिले पहाडी क्षेत्रमा पनि आस्थापूर्वक मनाइन्छ । छठपर्वमा भाकल गरेकाहरु घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारसम्म पुगेर स्नान गरेपछि व्रत पूरा गर्छन् । मनोकामना पूरा भएमा नाँच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने र दियो बाल्ने चलन पनि छ । छठ पर्वमा प्रदेश २ को सरकारले २ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ । कात्तिक २७ र २८ गते प्रदेश २ मा बिदा दिइएको छ ।

प्रकाशित : कार्तिक २५, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्