२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

छठमय तराई–मधेस (फोटोफिचर)

भरत जर्घामगर

सिरहा — तराई मधेसका नदी, पोखरी, हाटबजार, गाउँघर छठमय बनेका छन् । जलाशय किनारमा छठीमतालाई पवित्र सामग्री नैवेद्य चढाएपछि उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिनका लागि मधेसका नदी, पोखरी सिगार्न थालिएको छ । घाट बनाउन नदी, पोखरीमा घुइँचो लागेको छ ।

नदी पोखरीमात्र होइन छठी मातालाई केरा, मूला, अदुवा, नरिवल, पान, सुपारी, नाङ्लो, ढकी, चंगेरी, माटोको हात्ती किनमेलका लागि आउनेको भीडले हाटबजार भरिएका छन् । छठमा माटोको सामाग्रीले अत्यधिक बजार पाउँछ ।

सूर्यदेवको आरधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, बासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ । त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ती, घैलालगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना चाहिन्छ । पर्वमा यी सामग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा चढाइन्छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तरगत आज दोस्रो दिन खरना मनाइदैँछ । आजकै दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु दिनभर उपवास बस्छन् ।

आजै बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटोकै नयाँ भाडामा सख्खर, दुध र गम्हरीको चामलको खिर पकाइन्छ ।

यो पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घदिएपछि विधिवतरुपमा समापन हुन्छ । छठ पर्वमा व्रत गरे दु:ख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।


प्रकाशित : कार्तिक २६, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्