२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पुर्ख्यौली चिनोको रुपमा मात्रै कोदोको खेती (फोटोफिचर)

अनिश तिवारी

घुम्थाङ (सिन्धुपाल्चोक) — न उत्पात कमाइ । न खेती गर्न सजिलो । तैपनि खेतबारी कोदोले पहेंलपुर बनेका छन् । युवापुस्तामा त्यति रुची छैन् । पुर्खाको चिनो भन्दै पाकाहरुले लगाउन गरेका छन् । बाह्रबिसे नगरपालिकाभित्रै पर्ने गाउँ हो घुम्थाङको माथिल्लो बस्ती थगाम ।

घुम्थाङको डाँडाको मोडिने प्रत्येक बाटोबाट पहेलपुर रंगिन कोदोको बाला झुलेको देख्दा लाग्छ– कति सुन्दर छ यहाँको गाउँ । केही माथिल्लो भुभागमा लगाइएको तरकारीबाहेक सबै कोदो बारीले ढाकेको देख्दा कोदो पकेट क्षेत्र जस्तै लाग्छ घुम्थाङ ।

‘हेर्दा त खुब रमाइलो लाग्छ, तर के गर्नु बाबु फलाउन उस्तै मुस्किल छ,’ ८० वर्ष टेकिसकेकी झाङडोमा शेर्पाले दुखेसो पोखिन्, ‘छोराछोरी नरोपौं भन्छन् , मनले मान्दैन्, पुर्ख्यौली बिडो थाम्नै पर्‍यो ।’ पुर्खाबाट हस्तान्तरण हुँदै आएको कोदो बालीलाई छोडेर अरु रोप्न कुनै हालतमा मनले नमान्ने उनले सुनाइन् ।‘यो त परम्परा हो, यसलाई कहाँ छोड्नु हुन्छ र,’ उनले भनिन् । कोदोमा गरेको दुखलाई तुलना गर्दा घाटा व्यहोर्नुपरे पनि पुस्ताबाट आएको बाली भनेर लगाउन नछाडेको उनको भनाइ छ ।

बगाम तल्लो टोलकी ७९ वर्षकी कान्छी तामाङले पुर्खाबाट कोदो रोप्ने चलन आइरहेकाले त्यसैलाई निरन्तरता दिइरहेकी छिन् । ‘कोदोबाट केही आयआर्जन हुँदैन घरमा राखेर खाने हो, ’उनले भनिन् । तरकारी खेती र अरु बालीको तुलनामा कोदोबाट केही फाइदा नहुने भएपनि परम्पराकै कारण कोदोबाली लगाइरहेको उनले बताइन् । ‘अघिल्लो वर्षहरुजस्तै आहिले पनि सबैतिर कोदो लगाइएको छ,’ परपरसम्मको फाँट देखाउँदै उनले भनिन् । तामाङ सम्प्रदायको कर्मक्रिया र पुजामा कोदोबाट बन्ने मदिरा ‘सगुन’ लाई पवित्र मानिन्छ । तामाङ, शेर्पा जातीको चर्चित सुरापान ‘तुम्बा’ कोदोबाटै बन्छ । यसैबाट बन्ने रोटी, ढिंडोजस्ता विभिन्न परिकारलाई पौष्टिक मानिएकाले यसलाई छोड्न नसकिएको स्थानिय सुनाउँछन् । ‘जत्तिसुकै दु:ख होस् कोदो नरोपी चित्त बुझ्दैन्, के भन्नु हजुर,’ ७१ वर्ष लागिसकेका सुनबहादुर तामाङले भने ।

कुनै बेला घुम्थाङको फराकिलो मैदान भनिएको टुडिँखेलमा जिल्लाको सदरमुकाम तोकिँदा कोदो उपहार लिएर गएको उनको पुरानो अनुभव छ । ‘त्यसबेला ठुला लामा र हाकिमले कोदोलाई विशेष रुपमा लिन्थे,’उनले भने । तामाङ, शेर्पाका अन्न देवता भुमेको प्रिय बालीमा कोदो पर्ने भएको कारणले पनि यसलाई छोड्न मनले नमानेको उनले बताए । बगाम, डाडागाउँ, तल्लोटोलदेखि पुरा घुम्थाङका गाउँलेले नै कोदो खेती लगाउने गरेको वडाध्यक्ष मिनबहादुुर श्रेष्ठले बताए । ‘पुस्ताको चिनो झैं परम्परा मानेर यहाँको गाउँभर कोदो खेती लगाइन्छ,’ उनले भने । उनको अनुसार यहाँको प्रत्येक गाउँमा विभिन्न देविदेवताको पुजा मात्र नभइ पुस्ताको चिनोको रुपमा कोदोलाई लिएर सबैतिर खेती गरिन्छ ।

व्यवसायिक रुपमा नलगाइएको कोदो खेतीलाई परम्परागत रुपमा लगाउने प्रवृत्ती जिल्लाभर व्यापक रहेको पाइन्छ । ‘अधिकांश लेकाली भेगमा बसेका तामाङ, शेर्पा समुदायकाले कोदोलाई परम्परा धान्न भनेर भनेर उब्जनी गरेको पाइयो,’ जिल्लाभरको अनुगमन अनुभव बटुलेका तत्कालिन जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत दुर्गादत्त पाण्डेले भने ।

विदेशबाट लाखौं मेट्रीक टन नेपाल आयात हुने नयाँ जातका कोदोभन्दा यहाँकै उत्पादनलाई व्यवसायिक बनाएर प्रोत्साहित गर्नुपर्ने कृषकले माग राखेको छन् । गत वर्ष १५ हजार चारसय १० हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेकोमा यस वर्ष १४ हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा कोदो लगाइएको छ । जिल्ला कृषि विकास कार्यालयको तंथ्याकनुसार यो वर्ष १३ हजार नौसय ८ मेट्रीक टन मात्रै उत्पादन भएको छ । सिन्धुपाल्चोकमा ओखले, डल्ले लगायतका स्थानमा विभिन्न स्थानीय जातका कोदोको खेती गर्ने गरिएको छ । विशेष गरी पहाड र हिमाली भेगमा लगाइने कोदोमा झण्डै ७० प्रतिशत स्थानीय स्तरमा जाँडरक्सी र तुम्बा बनाउन प्रयोग गरिन्छ ।

प्रकाशित : मंसिर २, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्