धान खेतमा महिला [फोटोफिचर]

शब्द/तस्बिर: जितेन्द्र साह

मोरंग — खेत,आँगन,ढोका र सडकभरी धान छ । धानबालीले पुरा गाउँघर पहेंलै देखिन्छ । अहिले मोरंगको दक्षिणपूर्वी ग्रामीण भेगको माहोल यस्तैयस्तै छ । तर, सबैभन्दा उल्लेखनीय के छ भने धान काट्नेदेखि कुनिउँसम्ममा महत्वपूर्ण भूमिका महिलाले निर्वाह गरिरहेका हुन्छन् । 

धान भित्र्याउनमा महिला किसान र श्रमिक बरोबरी व्यस्त छन् । खेतदेखि खलिहानसम्म उनीहरु सक्रिय देखिन्छन् । फाटफुट मात्र पुरुष भेटिन्छन् ।

‘सबैतिर धान कट्नी भइरहेकोले कामको कमी छैन,’मोरंग जहदा–४ की ४५ वर्षीया अनीतादेवी मण्डलले भनिन् । उनी कृषि मजदुर हुन् । मण्डलले भनिन्,‘रोपाइँको बेला र यतिखेर हाम्रो माग बढ्छ ।’ ज्यालादारी श्रमिक उनी अरु बेला कामको खोजीमा सहरबजार पुग्छिन् ।

स्थानीय महिला किसान ५० वर्षीया चम्पादेवी मण्डल धान झाँटिसकेपछि बाँकी रहेको परालको बोझा थन्काउँदै भेटिइन् । परिणाम नीकै ठूलो भएकाले उनले आधा दर्जन श्रमिक महिलालाई परालको बिटा बनाएर त्यसलाई खलिहानमा राख्ने काममा लगाइरहेकी थिइन् । ‘एक्लैले धेरै समय लाग्छ,’मण्डलले भनिन् । कृषि विषय पढ्ने छात्रछात्रा पनि यतिखेर कटाइदेखि दाइँसम्ममा लीन भेटिन्छन् ।  

अचेल खनजोत,मलखाद र बिउको बन्दोबस्तीमा पुरुषको भूमिका सिमित भएको छ । ‘रोपाइँदेखि बाली भित्र्याउने जिम्मा महिलाकै हुन्छ,’मण्डलले भनिन् । उक्त गाउँपालिकाकी अग्रज महिला उषादेवी मण्डलले पतीपत्नी मिलेर खट्दा परिवार समृद्ध हुने अनुभव सुनाइन् । उनको श्रीमान गाउँदेखि विराटनगरसम्म विद्युतीय रिक्सा चलाउँछन् । 

मोरंगको ग्रामथान र धनपालथान गाउँपालिकाको धान खेतमा समेत बढीजसो महिला र एकलदुकल मात्र पुरुष भेटिए । जागिर, व्यापार, चालक पेसा र वैदेशिक रोजगारमा पुरुष सदस्य लागेकाले घरव्यवहारसँगै खेतीपातीको जिम्मेवारी पनि महिलाले सम्हालिरहेको ग्रामथान गाउँपालिका–२, खुनियाँकट्टाकी किशोरी एलिना विश्वासले बताइन् । 

विद्युतीय मिस्त्री उनको पिता पनि घरभन्दा बढी सहरबजारमै हुन्छन् । विश्वासको घर अघिल्तिरको खेतमा महिला किसान र श्रमिक धान काटिरहेका थिए । स्थानीय माया चौधरीले भनिन्,‘बजारमा लगेर धान बेच्ने काम चाहिं पुरुषले गर्छ ।’

कृषि शोधकर्ता डा.राधेश्याम मण्डलका अनुसार गाउँमा गृहस्थीसँगै खेतीपातीको मुख्य दायित्व परिवारका महिला सदस्यहरुले सम्हाल्न थालेका छन् । ‘क्षमताअनुरुप कसले र के गर्ने भन्ने कार्य विभाजन नै भइसकेको छ,’उनले भने,‘महिला पुरुषको विभेदभन्दा कौशल महत्वपूर्ण हुन्छ, श्रमदेखि सीपसम्ममा महिला नै अगाडि देखिएका छन् ।’ 

प्रकाशित : मंसिर ४, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्