अन्नबाट देवदेवीको आकृति [तस्बिरहरु]

लीला श्रेष्ठ

(भक्तपुर) — वरिपरी दाफा भजन । बीचमा बिस्केटको झल्को दिने भैरवनाथको रथ र बिस्केटको लिङ्गो उभ्याइएको छ । झट्ट हेर्दा साँच्चिकै भैरवनाथको रथ गुड्न तयार जस्तो देखिन्छ ।

यो आकृति शुक्रबार साँझ कात्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पूर्णिमाको अवसरमा तौमढीस्थित भैरवनाथ मन्दिरसँगै घर/घरबाट ल्याएको भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायत रोटीबाट बनेको आकृति हो । तर, अन्नको आकृति जस्तो भान हुँदैन । अन्नको आकृति बनाइने संस्कृतिलाई हरिमन्दिर तथा नसा ब्वयेगु भन्ने चलन छ ।

तौमढीमा जस्तै दत्तात्रय मन्दिर, वाकुपतिनारायण मन्दिर, ब्रह्मायणी द्य:छें, बाराही द्य: छें, ग:हिटी गणेश, तलेजु, चोछें गणेश, मध्यपुरथिमिको बालकुमारी मन्दिरलगायत टोलटोल मन्दिरहरूमा नसा ब्वयेगु देख्न सकिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार नेपालमण्डलभित्र बसोबास गर्ने नेवार समुदायले चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा, चाडपर्व मनाउने चलन छ । विभिन्न चाडपर्वमध्ये एक पूर्णिमा तिथि पनि हो । आकाशमा चन्द्रमाको पूरै भाग देखिने दिनलाई पूर्णिमा भनिन्छ । प्रत्येक महिनामा एक पूर्णिमा आउँछ । त्यसमा कार्तिक शुक्ल पूर्णिमाको दिनलाई सकिमना पूर्णिमा मनाउने चलन छ ।

सकिमिला पूर्णिमा वा हलिमलि पर्वको रुपमा पनि चिनिन्छ । ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । यस दिन देवालय, शिवालय, मठ मन्दिर तथा देवी/देवताको मूर्ति अगाडि सम्बन्धित मूर्त वा अमूर्त चित्रहरू प्रदर्शन गरिन्छ ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर


प्रकाशित : मंसिर ८, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्