कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राम-जानकी बिवाह महोत्सव : सिंगारिंदै जनकपुर (फोटोफिचर)

सन्तोष सिंह

जनकपुर — रामजानकी विवाह महोत्सवका लागि जनकपुर सिंगारिंदै छ । मंसिर २६ गते हुने विवाह महोत्सवको तयारीमा जानकी मन्दिर, जनकपुर उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकार जुटेका छन । 

 जानकी मन्दिर सिंगार्न भारतको कलकताबाट फुल मगाइएको छ । मन्दिरमा विद्युतीय सजावटको काम भइरहेको छ । रामजानकीको  जनकपुरको रंगभूमि मैदान विवाहका लागि मन्दिर परिसरमा भव्य मञ्च बनाइदैछ ।  

महोत्सवमा सहभागि हुन आएका साधु सन्तको भोजन बनाउन २ सय भन्दा बढी मजदुर परिचालन गरिएका छन् । राम–जानकीको स्वयम्बर हुने जनकपुरको रंगभूमि मैदान बाह्र विगहामा भव्य सजावट हुँदै छ । छुटाछुट्टै मण्डाल निर्माणमा कामदारहरु अहोरात्र खटिरहेका छन् । रंगभूमि मैदानमा आयोजना हुने यज्ञका लागि कलात्मक मण्डप निर्माण हुँदैछ । 

विवाह महोत्सवका मनाउन २ करोड भन्दा बढी खर्चको हुने अनुमान गरिएको छभने १० लाख भन्दा बढि श्रद्धालु सहभागी हुने जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिए । राम–जानकी विवाह महोत्सव शुक्रवारदेखि विधिवत सुरु हुँदैछ । शुक्रवार जनकपुर दर्शन, शनिवार फूलवारीलीला, आइतवार धनुष यज्ञ, सोमवार तिलकोत्सव, मंगलवार मटिकोर, बुधवार रामजानकीको स्वयंबर पछि राति विवाह र विहीवार रामकलेवाको आयोजन हुनेछ ।  

त्रेतायुगमा राम र सीताबीच भएको विवाहलाई जनकपुर र अयोध्यामा मंसिर शुक्ल पञ्चमीको दिन धूमधामसँग राम–जानकी विवाह महोत्सवको रुपमा मनाइन्छ । जनकपुरको जानकी मन्दिर मनाइने विवाह महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । जन्तीहरु बस, जीप, कारसँगै १० घोडा, २ हाती र २ ऊटमा सवार भएर जनकपुर प्रवेश गर्ने तयारी भइरहेको छ । 

मंसिर २६ मा हुने बिवाह महोत्सवमा अयोध्याबाट जनकपुर आउने जन्तीको नेतृत्व भारत, उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदीत्यनाथले गर्दै छन् । योगी जन्तीको रुपमा सहभागी हुने रामजानकी महोत्सवको यसवर्ष विशेष स्वागत तयारी गरिंदैछ ।  

विवाह महोत्सवमा जन्ती बनेर आउने भारत, उतर प्रदेशका मुख्यमन्त्री योगिका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश भवनमा भण्डारको आयोजना गरेका छन् । भण्डारका लागि प्रदेश सरकार रहेको मधेस भवनमा समेत पण्डाल लगाइएको छ । मुख्यमन्त्री राउतले आयोजना गर्ने भण्डारामा पाँच सय भन्दा बढी साधु सहभागी हुने मुख्यमन्त्री राउतले बताए । विवाह महोत्सवका लागि प्रदेश २ सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।


प्रकाशित : मंसिर २१, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्