सम्पदामा फन्को लाउँदै विश्वकप ट्रफी [तस्बिरहरु]

शब्द/तस्बिर : श्रुति श्रेष्ठ

काठमाडौँ — रग्बी विश्वकपको ट्रफी शुक्रबार युनेस्को विश्व सम्पदामा सूचीकृत राजधानीका स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र, बौद्धनाथ र पशुपतिनाथमा प्रदर्शनमा राखिएको छ । नेपालमा पहिलोपल्ट ल्याइएको ट्रफी हेर्नका लागि यी सम्पदा क्षेत्रमा मानिसहरूको भीड लागेको थियो ।

बिहान स्वम्भूनाथ पुर्‍याइएको विश्वकप ट्रफी दिउँसो पाटन दरबार क्षेत्रमा सर्वसाधरणका लागि प्रदर्शनमा राखिएको थियो । पाटनमा मानिसहरूले ट्रफीसँगै फोटो खिचाएका थिए । त्यसपछि ट्रफीलाई बौद्धनाथ र पशुपतिनाथ लागेर केही समय प्रदर्शनीमा राखिएको थियो ।

लन्डनबाट बुधबार ल्याइएको विश्वकप ट्रफीलाई बिहीबार समुद्री सतहबाट ५,६४३ मिटर उचाईस्थित कालापत्थरमा हेलिकप्टर चार्टर गरी पुर्‍याइएको थियो । ट्रफि सगरमाथा आधारशिविरमा पनि पुर्‍याइएको थियो । चार–चार बर्षमा हुने रग्बी विश्वकपको नवौं संस्करण सन् २०१९ सेप्टेम्बर २० देखि नोभेम्बर २ सम्म जापानमा हुदैछ, जहाँ २० देशले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप ट्रफी टुर विभिन्न देशका विशेष स्थानमा लगिन्छ र त्यसैअन्तर्गत् नेपाल ल्याइएको हो ।

सुनको जलप लगाइएको चाँदीको ३८ सेन्टिमिटर अग्लो विश्वकप ट्रफी शनिबार टुंडिखेलमा प्रदर्शनीमा राखिने नेपाल रग्बी संघले जनाएको छ । ‘यहाँ रग्बीको लोकप्रियता बढाउन र नेपालको पर्यटकीय संभावनालाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्नको लागि विश्वकपको ट्रफि ल्याइएको हो,’ संघका अध्यक्ष टंकलाल घिसिङले बताए । ट्रफी प्रदर्शनीसँगै टुंडिखेलमा सांगीतिक कार्यक्रम र स्कुल रग्बी प्रतियोगिताको फाइनल हेल पनि सञ्चालन गरिदै छ ।

रग्बी नेपालमा लोकप्रिय खेल होइन । तर, यो खेल राणा कालमै भित्रिएको थियो । त्यस बेला फोहोरा दरबार (हालको अमेरिकन क्लब) मा कुलीन घरानाका मानिसहरू रग्बी खेल्थे । नेपालले सन् रियो ओलम्पिक २०१६ को छनोटमार्फत् अन्तर्राष्ट्रिय रग्बीमा प्रतिस्पर्धा गर्न थालेको हो । नेपाली टिम अहिलेसम्म रग्बी विश्वकप छनोटको नजिक पनि पुगेको छैन । घरेलु प्रतियोगिता सुरु भएको पाँच बर्षमात्र भयो । वार्षिक चार प्रतियोगिता सञ्चालन भइरहेका छन् । नेपालमा रग्बी आठ क्लब सक्रिय छन् भने यसको ट्रेनिङ राजधानीका २५ वटा स्कुलमा नियमित भइरहेको छ ।थप तस्बिर : दिक्पाल थापा

प्रकाशित : मंसिर २१, २०७५ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्