कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बढे पर्वतीय संग्रहालय हेर्नेहरु [फोटोफिचर]

शव्द/तस्वीर:हरिहरसिंह राठौर

पोखरा — अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन गर्नेको भीड बढ्दै गएको छ । हिमाली क्षेत्रका बासिन्दाहरुको रहनसहन, संस्कृति र पहिलोपटक हिमाल आरोहणमा प्रयोग गरिएका सामग्री तथा तस्बिरहरु राखिएको संग्रहालय हेर्न नेपाली र विदेशी विद्यार्थी आकर्षित् छन् । २०६० माघ २२ गते सञ्चालनमा आएको संग्रहालय ६ रोपनी जमिनमा निर्माण गरिएको छ ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङका अनुसार संग्रहालयबाटै ८ हजार मिटर बढी उचाईका मनास्लु, धौलागिरि र अन्नपूर्ण हिमाल हेर्न पाइन्छ । संग्रहालयमा सगरमाथा आरोहणअघि ८ हजार ९१ मिटर उचाईको अन्नपूर्ण १ हिमाल आरोहण गरिएका सामग्री र तस्बिर सजाइएको छ । सन् १९५० को जुन ३ मा फ्रेन्च आरोही मोरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण १ को सफल आरोहण गरेका थिए । त्यस्तै विश्वमै पहिलोपटक सगरमाथा आरोहण गर्ने जापानी नागरिक जुन्को तावेई, सर एडमण्ड हिलारी, तेन्जिङ नोर्गे शेर्पा, , मनास्लु, चोयु, कन्चनजंघा आरोहणका सामग्री कलात्मक रुपले संग्रहालयमा राखिएको छ ।

संग्रहालयमा हिमाली भेकमा बसोबास गर्ने शेर्पा, थकाली, भोटे, तामाङ, गुरुङलगायत जातजातिका पहिरन, भेषभुषा, भान्सा, भाँडाकुडालगायत सामग्रीले पनि सजाइएको छ । संग्रहालयमा हिमाली भेगका दुर्लभ तस्बिरहरु छन् ।स्थापनाकालदेखि अहिलेसम्म ३५ लाख बढीले अवलोकन गरिसकेको नेपाल पर्वतारोहण संघका सल्लाहकार डाक्टर गणेश गुरुङले बताए । उनले यो पर्यतीय संग्रहालय एशियामै ठूलो भएको दाबी गरे । चालु आर्थिक वर्षको ८ महिनामै अढाई लाख दर्शकले संग्रहालय अवलोकन गरिसकेका छन् । जहाँ जापान, ताइवान, स्लोभानिया र कोरियाको संस्कृतिसमेत हेर्न पाइन्छ ।

नेपाली घर संग्रहालय परिसरमा खरको छानो, ढिकी, जाँतो, मौरीको घार, परेवाको गन्ज (गुँड), गाईवस्तु, तामाका ग्रागीलगायत हेर्न पाइन्छ । संग्रहालय अगाडि मनास्लु हिमालको प्रतीक स्वरूप ३१ फिटको पर्वत बनाइएको छ । यो प्रतीक जापानी सहयोगमा बनेको हो । मनास्लु हिमालको सबैभन्दा पहिला आरोहण गर्ने जापानी नै थिए । संग्रहालयमा हिमालमा पाइने याकलाई चिनाउने प्रयाससमेत गरिएको छ । त्यसका लागि संग्रहालय भवन अगाडि पित्तलको प्रतिमा राखिएको छ ।संग्रहालयमा ल्याब–लेआउट–प्लान राखिएको छ । यसको अध्ययन गरी कसरी पूरै संग्रहालय घुम्ने भन्ने कुरा बुझ्न सकिन्छ । नेपाली पर्वतीय कक्ष र अन्तर्राष्ट्रिय पर्वतीय कक्षमार्फत पर्वतीय संस्कृति, संस्कार, धर्मलगायतको जानकारी दिने व्यवस्था मिलाइएको छ । संग्रहालयमा रहेको भिजुल हलमा हिमालयसम्बन्धी दृश्य हेर्न पाइन्छ ।

प्रकाशित : मंसिर २३, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्