२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कांग्रेसको महासमिति बैठक सुरु [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा सुरु बैठक सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

पुस ३ गतेसम्म चल्ने बैठकमा कांग्रेसका सबै निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्यहरुको सहभागिता रहेको छ ।

विधानमा प्रत्येक वर्ष बैठक बस्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक हुन लागेको हो। सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि यो पहिलो महासमिति बैठक हो । पछिल्लो महासमिति बैठक ०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा बसेको थियो ।

संघ, प्रदेश र स्थानीय तहमा हार व्यहोरेपछि तत्काल महासमिति बैठक बोलाउन पार्टीभित्र तीव्र दबाब परेको थियो । निर्वाचन सम्पन्न भएको एक वर्षपछि बस्ने बैठकले हारको समीक्षा गर्नुका साथै संघीय संरचनाअनुसार विधान निर्माण गर्नेछ ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।


प्रकाशित : मंसिर २९, २०७५ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्