मेलबर्नमा सोई ढोले सोई...[फोटोफिचर]

घनश्याम खड्का, नारायण खड्का

मेलबर्न,अष्ट्रेलिया — मेलबर्न सहर भर्खर जाग्दै थियो । सडक पेटीमा एउटा लामो झाँकी अकस्मात निस्कियो जहाँ मारुनीदेखि साकेलासम्मका नृत्य गर्दै, ढोल र मादल बजाउँदै अनि नेपाली झन्डा फहराउँदै मानिसहरू अघि बढिरहेका थिए । 

आउँदो क्रिसमसको तयारीमा सान्ता क्लाउज र क्रिसमस ट्रिले सजिएको सहरमा नेपाली झाँकीले एक सुरले हिँडिरहेका मेलवर्नवासीहरुको ध्यान तान्यो । फटाफट हिँडिरहेकाहरु टक्क रोक्किए, गाडीमा हुँकीहएकाहरुले ब्रेक दबाए अनि धेरैले चाहिँ मोबाइल निकालेर मारुनीहरुसँग सेल्फी खिच्न थाले ।

अस्ट्रेलियास्थित गैरआवासीय नेपालीहरुले शनिबार गरेको ‘नेपाल महोत्सव’ले मेलवर्नलाई नेपाली संगित र नृत्य मात्रै देखाएन, म:म देखि चटपटेसम्म पनि चखायो । यसरी नेपाली स्वाद र संस्कृतिमा रम्नेमा अस्ट्रेलियाका बटुवादेखि भिक्टोरिया राज्यका जनसंख्या मन्त्री एलन टुजसम्म थिए ।

‘नेपालीहरुले मेलबर्नलाई बहुसाँस्कृतिक सहर बनाउन अतुलनीय योगदान गरेका छन्’ प्रमुख अतिथिका रुपमा निम्त्याइएका टुजले फेडरेसन स्कवायरमा उभिएका पाँच हजारभन्दा बढी नेपाली र अस्ट्रेलियालाई सम्बोधन गरे, ‘अन्य अन्य देशका समुदायले पनि यसबाट सिक्नुपर्छ ।’

नेपाल कला र संस्कृतिमा साह्रै धनी रहेछ भन्ने आफूले भेउ महोत्सवबाट आफूले पाएको भन्दै सात समुन्द्र पारी आएर समेत यसलाई जीवन्त राख्न सकेकामा उनले नेपालीहरुलाई धन्यवाद पनि दिए । सीएनएनको सर्वेक्षण अनुसार यस वर्ष भियनापछि विश्वमा बस्न लायक दोस्रो सहरमा दरिएको मेलबर्नको फेडरेसन स्क्वायरको मञ्चमाथि उभिएको विशाल भित्तो जस्तो देखिने स्क्रिनमा नेपालीहरुले सबै जातजातिको नृत्य र गीत प्रस्तुत गर्दा सहर आसपासका सबैले रमाइलो मानेर हेरिरहे ।

एनआरएन अस्ट्रेलियाले एक दशक अघिदेखि हरेक दुई वर्षमा ६ वटा राज्यमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । यसपटक मेलबर्नमा भएको महोत्सव भने अघिल्ला महोत्सवभन्दा निकै फरक र भव्य भएको आयोजक समितिका संयोजक केशव कँडेलले बताए । नेपालीहरुको बढ्दो संख्या र आपसी सदभावका कारण यसरी महोत्सव गर्न सकिएको आयोजकहरुको विश्लेषण छ । कँडेलका अनुसार अर्को साल सुरु हुने नेपाल भ्रमण वर्षमा पर्यटकहरु मनग्ये जाउन् भनेर पनि बृहत् खालको साँस्कृतिक प्रस्तुतिहरु दिइएको हो । महोत्सवलाई रमाइलो मानेर अवलोकन गरिरहेका यहाँका नागरिकले नेपालप्रति आफूहरुमा चाख जागेको बताए ।

झाँकीमा ठूलो संख्याको सहभागीता जुटेपछि मेलवर्न प्रहरीले ट्राफिक व्यवस्थापनमा सहजिकरण गरेर मद्दत पर्‍याएका थिए । विदेशीलाई मात्रै नभएर अस्ट्रेलियामै जन्मेका नेपाली पुस्तालाई पनि आफ्नो संस्कृति र भेषभुषाका बारेमा जानकारी दिन महोत्सव निकै सहयोगी हुने ठान्छन् एनआरएनका केन्द्रीय सदस्य गोकुल घिमिरे । ‘हाम्रा सन्तानले नेपाल चिन्ने भनेकै यस्तै अवसरहरुबाट हो’ उनले भने, ‘त्यसैले पनि यसको खास महत्व छ ।’महोत्सवमा अष्ट्रेलियाका सांसद र राजनीतिक दलका नेता पनि आएका थिए । एनआरएनका पूर्व अध्यक्ष शेष घले, ओसिनिया संयोजक धर्म अधिकारी, अध्यक्ष टोनु घोताने लगायतका अन्य संघसंस्थाका प्रतिनिधिहरु पनि थिए ।

प्रकाशित : मंसिर २९, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्