जे देखियो तमु ल्होसार महोत्सवमा [तस्बिरहरु]

विना थापा

कास्की — तमु प्ये ल्हु संघको आयोजनामा बिहीबारदेखि पोखरामा 'बृहत् तमु फो ल्होसार महोत्सव-२०७५' सुरु भएको छ । गुरुङ समुदायको ल्होछार (नयाँ वर्ष)को अवसरमा महोत्सव आयोजना गरिएको हो । समिति महासचिव शान्ति गुरुङले धर्म संस्कार र संकृतिको संरक्षण गर्न महोत्सव आयोजना गरेको बताइन् । गुरुङहरुले यस वर्ष खि (कुकुर) वर्गलाई बिदाई गरी फो (मृग) वर्गको स्वागत गर्दै ल्होसार मनाउँदै छन् ।

महोत्सव उद्घाटन पूर्वमन्त्री तथा नेकपा सांसद देव गुरुङले गरेका थिए । समारोहमा बोल्दै सांसद गुरुङले सबै समुदायको धर्म संस्कृति, संरक्षण गरी मुलुकको समग्र विकास गराउनुपर्नेमा जोड दिए । जसका लागि सबै एक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । चार दिनसम्म चल्ने महोत्सवमा पच्यु, क्ल्हेप्री र बोन्पो लमहरुले गुरुङ संस्कृतिबारे प्रवचन दिने, खेलकुद, साहित्यिक, प्रतियोगिता, रक्तदान, फोटो प्रदर्शनीलगायत कार्यक्रम हुनेछन् ।

उद्घाटनअघि पोखराको रानीपौवादेखी बाजागाजा र झाँकीसहित निकालिएको र्‍याली महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, पृथ्वीचोक, बुद्धचोक हुँदै अमरसिंह चौर पुगेको थियो । स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, रोल्पा, तेह्रथुम, ताप्लेजुङ, कञ्चनपुर, संखुवासभा, मोराङ, झापालगायत जिल्लाका प्रतिनिधिहरु कार्यक्रममा छन् ।

प्रकाशित : पुस १२, २०७५ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्