१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ल्होसारै रमाइलो [फोटोफिचर]

शब्द/तस्बिर : आश गुरुङ

लमजुङ — सरकारले १५ पुसमा ल्होसार सार्वजनिक बिदा कटौती गरेको भन्दै गुरुङ समुदाय आन्दोलनमा थिए । उनीहरूको माग थियो, ‘कटौती गरिएको सार्वजनिक बिदा पुन:स्थापित हुनुपर्ने ।’ गण्डकी सरकारले सार्वजनिक बिदा दिएपछि आन्दोलन केही मत्थर भयो । आन्दोलनको रूपमा मनाउने घोषणा गरेको गुरुङ समुदायले आइतबार विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाएका छन् ।

लमजुङ गुरुङ जातिको उद्मस्थलको रूपमा लिइन्छ । ल्होसार पर्वलाई गुरुङ समुदायले वर्ग फेरिएको दिनको रूपमा लिन्छन् । लमजुङका गुरुङ समुदायले सदरमुकाम बेंसीसहरमा बिहीबार झाँकी सहितको र्‍याली निकालेर ल्होसारको भव्य स्वागत गरे ।

तमु प्ये ल्हु सङ्घ र तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति साथै बेंसीसहर इकाईको आयोजनामा टोलटोलबाट आमा तथा बाबा समूह, युवायुवतीले तमु संग्रहालयको प्रांगणसम्म र्‍याली निकालेका थिए । र्‍यालीमा गुरुङ पुरोहित घ्याब्रेपच्यु, बोन्पोलम, लामा लगायतले झाँकी प्रस्तुत गरेका थिए । तमु संग्रहालयमा आयोजना गरिएको औपचारिक कार्यक्रममा निवर्तमान सांसद जमीन्द्रमान घले सहित गुरुङ समुदायका अगुवाको उपस्थिति थियो ।

तमु प्ये ल्हु सङ्घका जिल्ला अध्यक्ष मिलबहादुर गुरुङले शनिवार राति १२ बजेसम्म जाग्राम बसेर त्यसपछि मैनबत्ती बालेर फो ल्हो (मृग वर्ग) को स्वागत गरेको बताए ।

गुरुङ समुदायको १२ वटा बर्गचक्रममध्ये यस वर्ष खि ल्हो (कुकुर वर्ग) को बिदाइ गरिएको छ । गुरुङ समुदायले यही दिन नै नयाँवर्षको रूपमा लिन्छन् ।

वर्ग फेरिएपछि हरेक मान्छे एक वर्षले जेठो हुन्छ । कति वर्षको भयौँ भनेर यही वर्ग गनेर पत्ता लगाउने गरेको अगुवा बताउँछन् । तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला शाखाका अध्यक्ष ठाकुरप्रसाद गुरुङले पछिल्लो समय गुरुङ समुदायमा जातीय जागरण आएकाले चाडपर्व मनाउन थालिएको बताए ।

गुरुङ समुदायको घनाबस्तीहरु भुजुङ, पसगाउँ, घनपोखरा, घलेगाउँ, चिसापानी, गिलुङ, घाम्राङ, सुन्दरबजार, भोटेओडार, भोर्लेटार, इलमपोखरी, दूधपोखरी, पाचोक, कोल्की लगायत ग्रामीण तथा सहर बजारमा आइतबार ल्होसार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नयाँनायाँ लुगा लगाएर आफन्तसँग भेटघाट, सामूहिक रूपमा नाचगान, छेलो हान्ने, तीर हान्ने लगायतको कार्यक्रम गरी भोज खाएर गुरुङ समुदायले ल्होसार मनाउने गर्छन् । विदेशमा रहेका गुरुङ समुदायले पनि ल्होसार मनाइरहेका छन् ।

प्रकाशित : पुस १५, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्