२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पोखराको ल्होसार महोत्सवमा 'रुपा' लगाउनेको भीड [तस्बिरहरु]

विना थापा

कास्की — पोखरामा तमु फो ल्होसार महोत्सवको चौथो दिन आइतबार गुरुङहरुले रुपा (मन्तरेको फुको धागो) लगाएर मनाएका छन् । यो वर्षभरि शुभ रहोस् भनी पच्यु, क्ल्हेप्री र बोन्पोलम (लामाहरु) ले मन्तरेको रुपा लगउने चलन भएको समितिले जनाएको छ ।

गुरुङ सामुदायमा नयाँ वर्षको रुपमा मनाइने ल्होसारको पहिलो दिन (पुस) १४ का दिन रातको १२ बजे लामाहरुले पश्चिमतर्फ धनुषाकार हानेर खि (कुकुर) वर्गलाई बिदाइ गरी पुर्वतर्फ फर्किएर धनुषाकार हानेर फो (मृग) को स्वागत गरिएको समिति सहसचिव लोकेन गुरुङले बताए । 'त्यस्तै ल्होसार (पुस १५) गतेको दिन बिहान पच्युबाट छ्योपा पेँ, क्ल्हेप्रीबाट थासो पेँ र बोन्पोलमबाट छ्योक्यु ह्यो क्यु पेँ गरेपछि लामहरुले रुपा लगाइदिन्छन् ।’ महिलाले लगाइने रुपामा ७ वटा गाठो र पुरुषले लगाउने रुपामा ९ गाँठो पारिने चलन छ’ ।

रुपा लगाउने सबैलाई लामाहरुले स्याइँस्याइँ (सातो बोलाउने) गर्छन् भने रुपा लगाउनेहरुले आफुखुसी भेटी दिन्छन् । गुरुङका अनुसार रुपा लगाउन आउनेहरुको संख्या धेरै भएकाले ११ जना लामाहरुलाई रुपा लगाइदिनका लागि राखिएको थियो । 'रुपा लगाउने चलन पुरानै हो’ समितिका महासचिव शान्ति गुरुङ भन्छिन् ।

तमु प्हे ल्हु संघ केन्द्रीय समितिको आयोजनामा पोखराको रानिपौवास्थित समिति भवनमा भएको महोत्सवमा रुपा लागाउन आएकाहरुले पितृको नाममा बत्ती बाल्ने गह्र शान्तिका लागि गहुँ, जौं, तिललगायतका सात थरीट मिसाएर मुठीमा राखेर आफ्नै शिरमा घुमाएर आगोमा राखेका थिए । यस्तो गर्नाले ग्रह शान्ति हुने विश्वास छ ।

तेह्र थुम जिल्लामा भने रुपा नभएर रख्य भन्ने चलन रहेको महोत्सवमा सहभागी तेकमाया गुरुङले बताइन् । गुरुङ पोखरामा ल्होसार मनाउन पहिलोपटक आएकी हुन् । झापामा दोरा भनिने झापाकी धनमाया गुरुङले बताइन् । 'दोरा लगाउने तरिका उस्तै हो तर यहाँजस्तो धेरै रमाइलो हुँदैन' उनले भने ।

प्रकाशित : पुस १५, २०७५ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्