बच्चासहित गैंडा बस्ती पसेपछि...

रमेशकुमार पौडेल

चितवन — नारायणघाट बजारको व्यस्त क्षेत्र सहिद चोक, पुलचोकबाट पुग नपुग दुई किलोमिटर पश्चिममा रहेको बाह्रघरे क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा देखिनु अचेल नौलो भएन । तर शुक्रबार बिहानपख बस्तीमा एउटा गैंडा बच्चासहित देख्दा स्थानीयहरु भन्दै थिए, ‘जंगलको गैंडा बच्चा जन्माउन अब बजार छिर्न थाले छ ।’ गैंडा हिजो साँझपख एक्लै देखिएको थियो । आज बिहान सानो बच्चासँगै थियो ।

‘यता त दिनदिनै आउँछ गैंडा, कुन दिन हान्ने हो भन्ने डर छ । हिजो चार पाँच बजे एक्लै देखिएको गैंडा आज बिहान आठ बजे बच्चासहित निस्कियो,’ बाह्रघरेकी सरस्वती श्रेष्ठले भनिन् । घना बस्तीको बीचमा सानो चौर छ । त्यही चौरको झाडीभित्र बिहान बच्चासहितको गैंडा देखेपछि हेर्नलाई स्थानीयहरुको भीड लागेको थियो । १० बजे पछाडि गैंडा बच्चासहित नगरवन तर्फ लाग्यो ।

नारायणी नदीले बनाएको टापुलाई नगरवन भन्ने गरिएको छ । सिसौ रोपेर जंगल भएको नगर वनमा पछिल्लो समय गैंडा डुल्न थालेका छन् । तर त्यहाँ गैंडालाई खान मिल्ने घाँस भने छैन । त्यसैले रात परेपछि नजिकैको बस्तीमा छिर्न थालेका हुन् । बजार नजिकै रहेको बाह्रघरेमा मान्छेको बाक्लो ओहोरदोहोर भइरने समयमा गैंडा पनि बस्तीमा आउँदा त्रास फैलने गरेको छ ।

बस्तीमा आउने गैंडालाई रोक्न वा स्थानान्तरण गरेर लैजान स्थानीयले माग गरेका छन् । वर्षायामदेखि नै गैंडाको ओहोरदोहोर बाक्लै हुन थालेको हो । तर अहिलेसम्म ठोस पहल भएको छैन । रामपुर क्षेत्रबाट एउटा गैंडा नियन्त्रणमा लिइए पनि अरु त्यसै छन् । नगर वनमा ५ देखि ७ वटा गैंडा रहेको अनुमान छ । साँझ पर्दा नपर्दै ति बस्ती तर्फ आउँछन् र बिहान अबेलासम्म बस्ने गर्छन् । खेती खाएमा स्थानीयले ढुंगा हान्ने, लखेट्ने पनि गर्छन् ।

प्रकाशित : पुस २०, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्