२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सडकभरि छाडा चौपाया ? [फोटोफिचर]

शाहीमान राई

जनकपुर — प्रसिद्ध धार्मिक, साँस्कृतिक तथा पर्यटकीय सहर जनकपुरका सडकमा घरपालुवा चौपाया छाडा छाड्नाले सवारी आवगमनमा अवरोध हुने गरेको छ । जनकपुर उपमहानगरपालिका क्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रेलवेस्टेसनलगायत व्यस्त सडकमा जताततै गाईगोरु, भैंसी, बाख्रा, खसी, घोडालगायत घरपालुवा जनावर देखिन्छन् । जनकपुर उपमहानगरपालिका, प्रहरी, प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन् ।

छाडा चौपाया नियन्त्रण गर्ने पहिलो जिम्मेवारी भएकोले जनकपुर उपमहानगरपालिकाले कार्यालय हाताभित्र कान्जीहाउस (पक्राउ गरिएका गाईवस्तु राख्ने ठाउँ) बनाएको छ । तर, जनकपुरमा यति धेरै छाडा चौपाया छन् कि नियन्त्रण गरेर ल्याउँदा कान्जीहाउसमै अट्दैनन् । छाडा चौपाया बीच सडकमा सुत्ने, हिँड्ने, उभिने र यताउता हिंडदा सवारी दुर्घटना पनि हुने गर्छ । सवारीले ठक्कर दिंदा मृत्यु भए चालकले मूल्यभन्दा धेरै जरिवाना तिर्नुपर्छ । सडकमा छाडिएका घरपालुवा जनावर नियन्त्रणमा लिएर कान्जीहाउस पुर्‍याएमा चौपायाको धनीलाई उपमहानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था गरेको छ ।

जनकपुर उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण प्रयास गरेपनि असफल भएको उपमहानगर उपप्रमुख रिताकुमारी मिश्रले बताइन् । नगर प्रहरीले नियन्त्रणमा लिएका गाईगोरु, भैंसी, बाख्रा, घोडा लिन पशुपालक चौपाया धनीहरु लिनै आउँदैनन् । आफ्नो चौपाया लिन नआएपछि नगरपालिकाले उल्टै पालिदिनुपर्ने, घाँस र जनशक्ति उल्टै खर्च हुने गरेको छ । जरिवाना तिर्न गाह्रोले उपमहानगरपालिकाको नियन्त्रणमा रहेका चौपाया लिन नआएका हुन् । उपमहानगरपालिकाले नियन्त्रणमा लिएका चौपाया धनीहरु लिन नआए लिलाम बिक्री गर्ने व्यावस्था भए मात्र सडकमा छाडा चौपायाको संख्या घट्न सक्ने उपप्रमुख मिश्रले बताइन् ।

सडकमा घरपालुवा साँढे र मन्दिरमा चढाएर छाडिएका साँढेलाई समेत नियन्त्रणमा लिएर निकै टाढाटाढाको गाउँतिर पठाइएको छ । तर, पशुधनीले आफ्नो चौपायालाई घाँस दिएर बाँध्नुको सट्टा छाडा छोड्ने गरेका छन् । छाडा पशु नियन्त्रणका लागि जनचेतना फैलाउन जरुरी रहेको जनकपुर ५ कि वडासचिव जमुना भूजेलले बताइन् । उनले पशुधनिको बेवास्ताका कारण उपमहानगपालिकाको कान्जीहाउससमेत प्रभावकारी हुन नसकेको बताइन् ।

प्रकाशित : पुस २४, २०७५ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्