कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चितवन महोत्सवको शोभायात्राका तस्बिरहरु

रमेशकुमार पौडेल

चितवन — चितवन महोत्सव बुधबारबाट सुरु भएको छ । महोत्सव उद्घाटन मध्यान्ह सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका चितवन ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ । चितवन उद्योग वाणिज्य संघले चितवन जिल्ला समन्वय समिति र भरतपुर महानगरपालिकासँग सहकार्य गरेर महोत्सव गर्दै आएको छ ।

उद्घाटनअघि बिहानै शोभायात्रा निकालिएको छ । महोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दाहालले बेलुन उडाएर शोभायात्राको पनि उद्घाटन गरे । शोभायात्रामा साँस्कृतिक झाँकीहरु देख्न पाइन्छ । जिल्लाका आदिवासी, जनजाति समुदाय आआफ्नो पोशाक र पहिचानसहित शोभायात्रामा सहभागी हुन्छन् । सामाजिक संघ संस्था, व्यावसायिक संस्था र प्रतिष्ठान पनि शोभायात्रामा सहभागी हुन्छन् ।

सिँगारिएको हात्ती, घोडाले जान्ने बग्गी, जातजातिको संगित, संस्कृति शोभायात्रामा देख्न पाइन्छ । शोभायात्राले पुरै बजार घुम्छ । स्वागतका लागि हरेक घर अगाडि पानी भरेको सिँगारिएको तामाको गाग्री हुन्छ । चोक चोकमा विशेष स्वागत हुन्छ । २०५३ सालदेखि हरेक दुई वर्षको अन्तरालमा महोत्सव हुने गरेको छ । यो १२ औं चितवन महोत्सव हो । महोत्सव माघ ४ गतेसम्म नारायणगढ नारायणी नदी किनारमा सञ्चालन हुने छ ।

महोत्सवका मूल संयोजक तथा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले महोत्सव परिसरमा पाँच सय ७० स्टल रहने बताए । पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २५ करोड रुपैयाँबारबरको आर्थिक कारोबार हुने उनको भनाइ छ । महोत्सवकै बेलामा पुस २८ देखि माघ २ गतेसम्म नारायणगढ क्याम्पाचौरमा फुड फेष्टिवल पनि हुने छ ।

प्रकाशित : पुस २५, २०७५ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्