१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तरुल व्यापारको चटारो, किलोकै ३ सय रुपैयाँ !

शब्द/तस्बिर :सुरविन्द्रकुमार पुन

काठमाडौँ — माघी पर्व नजिकिएसँगै राजधानीको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा तरुल व्यापारको चटारो लागेको छ । विभिन्न थरीका तरुल अहिले कालीमाटी बजारमा बिक्रीवितरण भइरहेको छ ।

राजधानीमा मुख्य गरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गरेको छ । पाल्पा, अर्घाखाँची, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, झापा, नुवाकोट लगायतबाट पनि काठमाडौं उपत्यकामा तरुल भित्रिने गरेको छ ।

ढकको हिसाबमा तरुलको कारोबार भइरहेको छ । एक ढक बराबर ५ किलो मानिन्छ । होलसेल भाउमा कम्तिमा पनि एक ढक खरिद नभई तरुल बेचिँदैन । सस्तोमा प्रतिढक बराबर १ सय ८० देखि सबैभन्दा महँगो १५ सय रुपैयाँसम्मका तरुल कालीमाटी बजारमा किन्न सकिन्छ । तरुलसँगै बजारमा सखरखण्ड, स्कुसको जरा, पिँडालु पनि पाइने गरेको छ । बिक्रेताका अनुसार घर तरुल सस्तो र सुलभ भएकाले पनि यसप्रति उपभोक्ताको आकर्षण बढेको छ । निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेका छन् । सिमल तरुलले शरीरको सर्दीको मात्रालाई थप बढाउने हुँदा यसप्रति उपभोक्ताको रुचि कम देखिएको मानिन्छ ।

मुख्यत: पहाडी जिल्लाका वनमा पाइने वन तरुल नितान्त अर्गानिक मात्र नभई सुलभ रुपमा बजारमा नपाइने हुँदा यसको बजार भाउ अकासिएको छ । वन तरुल खोज्ने, खन्ने, संकलन गर्ने कार्य निकै कठिन हुन्छ । संकलक, विविध थरिका बिचौलिया हुँदै बजारमा बिक्रेताकहाँ आइपुग्दा होलसेल भाउमा पनि वन तरुलको भाउ यसरी बढेको हो । सहरमा हुनेखाने वर्गले मूल्य प्रवाह नगरी स्वास्थ्यकै लागि पनि वन तरुल किन्ने गरेको पाइन्छ ।

वन तरुल । एक ढक वन तरुलको होलसेल १५ सय रुपैयाँमा किनबेच भइरहेको छ।

तरुललाई खासगरी उसिनेर खाने गरिन्छ । झन्झन् विकसित हुँदै गइरहेको आधुनिक चिकित्सा विज्ञानको जमानामा पनि चिकित्सकहरुले उसिनिएर खाने बानी बसाल्न आफ्ना बिरामीहरुलाई सुझ्याउने गरेको सन्दर्भमा तरुलप्रति पनि आमउपभोक्ताको चाख बढेको हो ।

तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्बद्ध विज्ञहरुको राय छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्यवर्द्धक र बहुपयोगी कन्दमूल हो ।


प्रकाशित : पुस २८, २०७५ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्