१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बेत्रावतीमा गोरुको घम्साघम्सी [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल बेत्रावतीमा यस वर्ष पनि गोरु जुधाइएको छ । प्रत्येक वर्षको मकर सङ्क्रान्तिका बेत्रावतीमा गोरु जुधाउने परम्परा रहिआएको छ । यस वर्ष आठ हल गोरुको घम्साघम्सी भएको छ ।

१६ जना कृषकले पालेका बलियो गोरु बेत्रावतीमा ल्याइएका थिए । विस‌ं १८४९ असोज १७ गते नेपाल र चीनबिच बेत्रावतीमा भएको सन्धिको खुसीयालीमा गोरु जुधाउने मेला सञ्चालन हुँदै आइरहेको गोसाईकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले बताए ।

विगतका वर्षहरूमा परम्परामा मात्र सीमित रहेको गोरु जुधाउने मेला केही वर्षयतादेखि बेत्रावतिका स्थानीय बासिन्दाहरूले गोसाईकुण्ड युवा क्लब मार्फत व्यवस्थित तरिकाले सञ्चालन गर्दै आएका छन् ।

आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यो मेलामा विगतका वर्षहरू देखि नै रसुवा नुवाकोट पर्यटन समाजले सहयोग गर्दै आएको संस्थाका अध्यक्ष बलराम न्यौपानेले बताए । मंगलवार उता नुवाकोटको तारुका र पञ्चकन्यामा पनि गोरु जुधाई मेला आयोजना भएको छ । तार्केश्वर गाउँपालिका-३ तारुकामा २३ हल गोरु जुधाइएको छ ।

बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाइ रहेको छ । अहिले स्थानीयवासीले संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनसँग जोडेर गोरु जुधाइलाई निरन्तरता दिँदै आएका छन् । केही वर्ष यता व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको छ । रसुवा र नुवाकोटका स्यानीय कृषकले गोरु जुधाउनको लागि वर्ष भरी तागतिलो कुराहरू खुवाएर पाल्ने गरेका छन् ।

जुधाउन ल्याउने गोरुलाई तीन वर्ष अगाडि नै खुराक खुवाउन १० हजार कृषकलाई दिने व्यवस्था क्लबले गरेको छ । तर गोरु तीन वर्षसम्म नबेच्ने सर्तमा १० हजार उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष डंगोलले बताए ।

गोरु जुधाउने मेला अहिले मनोरञ्जन तथा खुसीयाली साट्ने थलोको रूपमा विकास हुँदै गइरहेका छ । गोरु जुधाएको हेर्न मङ्गलवार सयौँ मानिसहरू बेत्रावतीमा जम्मा भएका थिए । यस्ता मेलाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

प्रतियोगितामा प्रथम, द्वितीय हुने गोरुका धनीहरूका लागि क्रमशः तीन हजार र दुई हजार पाँच सय नगद पुरस्कारको व्यवस्था गरिनुका साथै जुधारु गोरुलाई भिटामिनको समेत व्यवस्था गरिएको छ । प्रतिस्पर्धी गोरुको बिमा समेत गरिएको छ ।

प्रकाशित : माघ १, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्