तस्बिरमा हेर्नुहोस्, रूरू मेला

माधव अर्याल

पाल्पा — माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी रूरू क्षेत्रमा पाँच दिने मेला सुरु भएको छ । रूरू क्षेत्रमा माघे संक्रान्तिमा स्थान गरेमा पुण्य प्राप्त गरिने जनविश्वास छ । रूरू क्षेत्रमा नुहाउन नेपालसहित भारतबाट समेत भक्तजन आउने ऋषिकेशव मन्दिर व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त रेग्मीले बताए ।

संक्रान्तिको अघिल्लो दिन नै यहाँ चहलपहल बढेको थियो । तीन दिनसम्म लाग्ने मेलामा २ लाख बढी भक्तजन आउने अनुमान अध्यक्ष रेग्मीको छ । संक्रान्तिका दिन बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । चारधाममध्येको एक रूरू क्षेत्रमा नेपालसहित भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गर्छन् । कम्तीमा तीन दिन र बढीमा ५ दिनसम्म भक्तजनको आउजाउ चलिरहने मन्दिरका पुजारी चुरामणि तिमिल्सेनाले बताए ।

मुक्तिनाथबाट बग्दै आउने कालीगण्डकी नदीमा माघे संक्रान्तिमा नुहाउने गर्छन् । तानसेन नगरपालिका–१४, अर्गलीका वडाध्यक्ष कमल रानाका अनुसार आउने भक्तजनलाई खिचडी खुवाउने कार्यक्रम राखिएको छ । धार्मिक आस्थाका कारण रूरू आएर मकर स्नान गर्ने, जप, पूजा, हवन, दान तथा पितृश्राद्धसमेत गर्ने गर्छन् । माघे संक्रान्तिमा रिडी रूरू क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक जनविश्वास छ । यहाँ आएका भक्तजनहरूले कालीगण्डकीमा नुहाएर, तानसेन–१४, अर्गलीस्थित ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् । पाल्पातर्फ रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा स्याङ्गजा र गुल्मीमा मेला भर्न आउने दर्शनार्थी पूजा गर्न घुइँचो लाग्ने गर्छ ।

सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा साक्षात् भगवान ऋषिकेशवको मूर्ति फेला पारेका थिए । सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने जनविश्वास छ । कालीगण्डकी नुहाउन र ऋषिकेश, गायत्रीमाता लगायत विभिन्न देवालयहरूको दर्शन गर्न भक्तजनहरू आउने गर्छन् । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्न सक्ने स्थानीय सम्झना भट्टराईले बताइन् ।

गुल्मीतर्फ स्थानीय क्लबले खानपिन, व्यापार र साँस्कृतिक कार्यक्रम राखिएको छ । विभिन्न स्थानबाट आएका व्यापारीले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । संक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा, बाग्लुङ्ग, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि रिडीमा आएका छन् । रोल्पा, रूकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लाका व्यापारीहरूले जाडो छल्नुका साथै त्यस क्षेत्रमा पाइने ऊनीजन्य बस्तुहरू जस्तै, राडीपाखी, कम्बल, बाासको सामग्रीहरू, जडीबुटीहरू खरिद बिक्री तीन दिनसम्म चल्ने गर्छ । रुकुमको टकसेरा लगायतका गाउँबाट राडी पाखी लिएर आउने व्यापारीहरु आइसकेका छन् । मेलाको पहिलो दिन नेपाली सेनाको गोरखदल गण, तानसेनले नि:शुल्क स्वास्थ्य शिविर राखेको छ । नेपाली सेनाको गुल्मी र पाल्पाको समन्वयमा शिविर राखेको गोरखदल गणका मेजर मनोज डंगोलले बताए ।

प्रकाशित : माघ १, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्