२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

गोरखाको घैरुङमा गोरु जुधाइ [फोटोफिचर]

हरिराम उप्रेती

गोरखा — माघे संक्रान्तिका अवसरमा सहिद लखन गाउँपालिका ६ घैरुङ पीपलछापमा मंगलबार गोरु जुधाइएको छ । हराउँदै गएको परम्परालाई जीवन्त राख्न यहाँ तीन वर्षयता गोरु जुधाउने चलन सुरु गरिएको हो । ९ हल गोरुको घम्साघम्सीलाई दर्शकले मजा माने । गोरु जुधाउनका लागि स्थानीयले आफ्नै नियम बनाएका छन् । आधा घण्टासम्म जुधाउनुपर्ने र जुधेका दुईमध्ये एकले बीचमै छाडे अर्को स्वत: विजेता घोषित हुने नियम राखिएको पीपलछापका केशरबहादुर गुरुङले बताए । ‘आधा घण्टासम्म हारजित नभए दुवै गोरुलाई विजेता घोषणा गर्छौं,’ उनले भने, ‘गोरुलाई घाउचोट लागे धनी आफैंले व्यहोर्नु पर्छ ।’

नियम कडा रहेकाले जुधाउन आफ्नो पशु ल्याएका धनी चनाखो देखिएका थिए । प्रत्येक गोरुको विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको थियो । कृषकहरूलाई उत्पेरित गर्न उपविजेतालाई पनि पुरस्कार व्यवस्था गरिएको गुरुङले बताए । ९ हलमध्ये नाम्जुङका अर्जुन लामिछाने र बतासेका झक्कबहादुर श्रेष्ठको गोरुमात्र ३० मिनेटसम्म जुधे । दुवै विजेता घोषित भए । 

वर्षौंअघि जिजुबाजेका पालामा गोरु जुधाउने गरेको सुन्दै आएका युवापुस्ताले लोप भएको संस्कृति जोगाउन यसलाई निरन्तरता दिएका हुन् । गोरु जुधाउने प्रतियोगितामा भाग लिन पाउँदा किसान पनि फुरुङ्ङ देखिए । प्रतियोगितामा सहभागिता जनाउनकै लागि तीन महिनादेखि गोरुलाई कोदो, चामल र तेल खुवाएर बलियो बनाएको ज्यामिरेस्वाँरा घैरुङका डिलबहादुर थापाले बताए । ‘माघे संक्रान्तिमा गोरु जुधाउने रहर पूरा भयो, खुसी लाग्यो,’ उनले भने । हिमालीदेवी युवा क्लबको आयोजनामा भएको कार्यक्रममा फुजेल, मकैसिङ र नाम्जुङदेखि गोरु जुधाउन आएका थिए भने कतिपयले कृषि प्रदर्शनीमा भाग लिएका थिए । पर्वलाई रमाइलो बनाउन गोरु जुधाइ प्रतियोगिता गर्नैपर्ने नाम्जुङका विष्णुप्रसाद लामिछानेले बताए । संक्रान्ति मेलाकै अवसरमा भएको कृषि उपज प्रदर्शनीमा दुई सयजना किसानले भाग लिएका थिए । स्थानीय स्तरका कृषि उपज तरुल, केरा, फर्सी, कफी, च्याउ, सुन्तला, काउली र मूला प्रदर्शनीमा राखिएको थियो । 


प्रकाशित : माघ १, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्