३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हिउँले राजमार्ग ठप्प [फोटोफिचर]

बसन्तप्रताप सिंह

बझाङ — जिल्लामा गत सोमबारबाट सुरु भएको हिमपात नरोकिएपछि जनजीवन प्रभावित भएको छ । भारी हिमपातका कारण सडक जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यातायात अवरुद्ध भएपछि बझाङ जिल्लाबाट धनगढी, महेन्द्रनगर र काठ्माडौं जाने र त्यहाँबाट बझाङ आउने सयौं यात्रु राजमार्गको विभिन्न ठाउँमा हिउँमा फसेका छन् ।

‘ठाउँठाउँमा जाम लागेको छ’ बैतडीको नाचन्थली क्षेत्रमा फसेका एक यात्रु मदन विकले भने ‘२/३ घण्टा मात्र बाटो खुलेको थियो । फेरि पुरिएको छ’ उनले आउने र जाने गरी दुवैतर्फ साना ठूला गरेर १५० देखि २०० को हाराहारीमा गाडीहरु हिउँमा फसेको बताए । बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका दर्जनौं गाडीहरु वित्थड, श्रीभावर, ढोल्यामोडलगायत ठाँउमा फसिरहेका छन् । त्यस्तै तराईका जिल्ला र काठमाडौंबाट आएका गाडीहरु विजयपुर, मुस्यालेक, नाचन्थली, बजपानीलगायतका ठाउँमा अलपत्र अवस्थामा रहेको मालिका यातायात व्यवसायी समिति बझाङ काउन्टर इन्चार्ज विनोद बमले बताए । उनले एक हजारभन्दा बढी यात्रु राजमार्गका विभिन्न ठाउँमा फसेको बताए । एक फिटभन्दा जति हिउँ जमेको र हिमपात नरोकिएका कारण झन् समस्या भएको उनले बताए ।

‘नजिकै रहेका होटलहरुमा खानेकुरा पनि सकिन थालेको छ’ एक जना यात्रु सविता बोहराले भनिन्, ‘कम्मरसम्म हिउँ जमेको छ। हिँडेर कतै जान सक्ने अवस्था पनि छैन ।’ उनले हिउँले सबैतिर ढाकेका कारण आगो बाल्नका लागि दाउरासमेत नपाइएको र केटाकेटी र वृद्धवृद्धाहरु चिसोले बिरामीसमेत हुन थालेको बताइन् । पुरै शरीर ढाक्न मिल्ने गरी लुगा लगाउन नपाउने र खाली खुट्टा हिँड्नु पर्ने कतिपय क्रियापुत्रीहरु पनि हिउँमा फसेका छन् । बैतडीमा रहेको सडक कार्यालयको सहकार्यमा सडक खोल्ने प्रयास भइरहेको भए पनि लगातार हिमपात भइरहेका कारण पटक पटक बाटो अवरुद्ध हुने गरेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७५ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्