लेकाली क्षेत्रमा थुप्रियो हिउँ [फोटोफिचर]

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको लेकाली क्षेत्रमा हिउँ थुप्रिएको छ । बिहीबार मध्यान्हदेखि हिउँ पर्नेक्रम बाक्लिएको हो । पाथीभरा क्षेत्र माथिल्लो फेदी अस्थायी स्वास्थ्य केन्द्रका अहेव उमनाथ पौडेलका अनुसार पानी र हिउँ सरोवरी परेको छ । पुसयता यहाँतिर पानी हमेसा देख्न पाइँदैन थियो । पानीको साटो हिउँमात्रै पर्थ्यो । ‘तातोपन पलाएर होला पानी र हिउँ सरोवरीजस्तै परिरहेको छ’ उमनाथले थपे, ‘माथीतिर (पाथीभरा) बाट तलतिर झरेको हो ।’

प्रकाशित : माघ २४, २०७५ २०:४६

माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार कालो बादलले भरिए हिउँ पर्छ । सेतो बादल लाग्दाभने हिउँ पर्दैन । सामान्यतया हिउँ लेकबाट सुरु भएर औलतिर पर्दै झर्छ । योवर्ष अघिल्लोपटक पर्दा औलबाट लेकतिर पर्दै गएको उनले बताए । कालो बादल लागेको अवस्था हेर्ने हो भने रातभरमा सुकेटार विमानस्थलसम्मै हिउँ झर्नसक्ने माथिल्लो फेदीका बासिन्दाको अनुमान छ ।

Citizen

माथिल्लो फेदी ३१ सय मिटर उचाइमा छ भने सुकेटार विमानस्थल २७ सय मिटरमा छ । यसअघि पनि सुकेटारसम्म हिउँको छार्को झरेको थियो । हिउँ परेको हावा बहेको क्षेत्रतिर हिउँको छार्को झर्छ । फुङलिङ नगरपालिकाको सुकेटार हुँदै बुङकुलुङसम्मै हिउँ झरेको थियो । यो २०६२ सालपछि परेको हो । मौसममा बदली हुँदा हिमालीबस्तीका ओलाङचुङगोला, याङमा, लेलेपको घुन्सा, फले लगायतका स्थानमा हिउँ पर्ने गरेको छ । यी बस्ती २९ देखि ३१ सय मिटर उचाइका छन् ।

तस्बिर : आनन्द गौतम/कान्तिपुर

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पूर्वाधार विकास बैंकलाई अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वाधार विकास बैंकले सञ्चालन अनुमति पाएको छ । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बैंकलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो । यद्यपि बैंकले राष्ट्र बैंकबाट औपचारिक पत्र पाइसकेको छैन । राष्ट्र बैंकबाट औपचारिक पत्र पाएपछि सञ्चालन प्रक्रिया पूरा गर्न बैंकलाई बाटो खुल्नेछ । 

सामान्यतया राष्ट्र बैंकबाट अनुमति पाएको छ महिनाभित्र सञ्चालनमा आइसक्नुपर्ने कानुनी व्यवस्था छ । बैंकको अधिकांश काम पूरा भइसकेकाले छिट्टै सञ्चालनमा आउने बैंक स्रोतले जनाएको छ । ‘सम्भवत: अनुमति पत्र प्राप्त भएको तीन साताभित्र सञ्चालनमा आइसक्छौं,’ स्रोतले भन्यो ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजीसहित स्थापना हुन लागेको यो बैंकले ४५ प्रतिशत रकम जम्मा गरेपछि सैद्धान्तिक सहमति पाएको थियो । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अनिल ज्ञवालीलाई दिइएको छ । डेपुटी प्रमुख कार्यकारीमा भूपेन्द्र पाण्डे छन् ।

यो बैंक सञ्चालनमा आएपछि पूर्वाधार विकासलाई लक्षित गरी खुलेको पहिलो बैंक हुनेछ । औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी गर्ने उद्देश्यले विगतमा नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) विकास बैंक स्थापना गरिएको थियो । त्यो संस्थाले अपेक्षित रूपमा काम गर्न सकेन । हाल उक्त बैंकलाई राष्ट्र वाणिज्य बैंकमा गाभिएको छ । यसकारण छुट्टै पूर्वाधार विकास बैंक स्थापना गर्ने नीति सरकारले ल्याएको हो ।

सोही नीतिअनुसार राष्ट्र बैंकले ‘पूर्वाधार विकास बैंक सम्बन्धी नीतिगत व्यवस्था २०७४’ ल्याएको हो । नीति जारी भएसँगै राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि लाइसेन्स पनि खुला गरेको थियो । त्यसपछि पूर्वाधार विकास बैंकले अनुमति माग्दै आवेदन दिएको थियो । सोही संस्थालाई बिहीबार राष्ट्र बैंकले सञ्चालन अनुमति दिने निर्णय गरेको हो ।

पूर्वाधार विकास बैंकको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक स्थापना भएमा संस्थापक समूहले न्यूनतम ५१ प्रतिशतदेखि ७० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तो अवस्था उक्त कम्पनीले सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत र आफ्ना कर्मचारीलाई न्यूनतम ०.२ प्रतिशतसम्म सेयर छुटयाउनुपर्ने कानुनी व्यवस्था छ ।

विदेशी साझेदरका रूपमा विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानीमा समेत यस्तो बैंक स्थापना हुन सक्नेछ । यसरी स्थापना हुने बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ । ८५ प्रतिशतसम्म सेयर वैदेशिक लगानी हुने यस्तो बैंकले सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर छुटयाउनुपर्ने व्यवस्था छ ।

५० प्रतिशतसम्म मात्र वैदेशिक लगानी रहेको पूर्वाधार विकास बैंकले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर छुटयाउनुपर्नेछ । गैरआवासीय नेपालीले पूर्वाधार विकास बैंकमा लगानी गर्ने रकम नियमसंगत तरिकाले कुनै बैंक वा वित्तीय संस्थामार्फत विप्रेषणको माध्यमबाट मुलुक भित्र्याउनुपर्ने व्यवस्था नीतिमा छ ।

प्रकाशित : माघ २४, २०७५ २०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT