लेकाली क्षेत्रमा थुप्रियो हिउँ [फोटोफिचर]
ताप्लेजुङ — ताप्लेजुङको लेकाली क्षेत्रमा हिउँ थुप्रिएको छ । बिहीबार मध्यान्हदेखि हिउँ पर्नेक्रम बाक्लिएको हो । पाथीभरा क्षेत्र माथिल्लो फेदी अस्थायी स्वास्थ्य केन्द्रका अहेव उमनाथ पौडेलका अनुसार पानी र हिउँ सरोवरी परेको छ । पुसयता यहाँतिर पानी हमेसा देख्न पाइँदैन थियो । पानीको साटो हिउँमात्रै पर्थ्यो । ‘तातोपन पलाएर होला पानी र हिउँ सरोवरीजस्तै परिरहेको छ’ उमनाथले थपे, ‘माथीतिर (पाथीभरा) बाट तलतिर झरेको हो ।’
माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार कालो बादलले भरिए हिउँ पर्छ । सेतो बादल लाग्दाभने हिउँ पर्दैन । सामान्यतया हिउँ लेकबाट सुरु भएर औलतिर पर्दै झर्छ । योवर्ष अघिल्लोपटक पर्दा औलबाट लेकतिर पर्दै गएको उनले बताए । कालो बादल लागेको अवस्था हेर्ने हो भने रातभरमा सुकेटार विमानस्थलसम्मै हिउँ झर्नसक्ने माथिल्लो फेदीका बासिन्दाको अनुमान छ ।
तस्बिर : आनन्द गौतम/कान्तिपुर